ऐतिहासिक सफलता र फुलिरहेको बेलुन

ऐतिहासिक सफलता र फुलिरहेको बेलुन


sportखेलकुद लेख
अहिले क्रिकेटले पाएको ऐतिहासिक सफलतासँगै क्रिकेटले बजार पिटेको छ । कप्तान पारस र उनको टिमको राष्ट्रियस्तरमा जयजयकार भइरहेको छ । राजादेखि रङ्कसम्मको मुखाराबिन्दुमा क्रिकेट मात्र झुन्डिएको छ । जुन समय सापेक्षित हिसाबले गुणन, भागा, जोड, घटाउ जे गर्दा पनि क्रिकेट नै अब्बल सावित भएको छ । यस्तो अवस्थामा अझ सञ्चारमाध्यमहरूले क्रिकेटमा ‘पाइन’ लगाइदिएपछि त रातारात क्रिकेट र क्रिकेटर बाघ भएर देखापरेका छन् । न क्रिकेटका अगाडि कसैले जाने आँट गरेका छन् न त वास्तविकतासँग परिचित छन् । अहिले तातो सूर्य बनेको छ क्रिकेट र त्यसका खेलाडी । त्यसलाई कसैले छुने दुस्साहस ग-यो भने त्यो भष्म हुने प्रबल सम्भावना छ । यसको पहिलो सिकार भएका माओवादी नेता सीपी गजुरेललाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । बिचरा सीपीले क्रिकेटले जति राम्रो प्रदर्शन गरे पनि राष्ट्रको विकासमा दलहरूको नै मुख्य भूमिका रहने भनेर मुखमात्र के बाएका थिए झन्डै पलायन हुने खतरा र राष्ट्रद्रोहको जस्तो सङ्गीन आरोप लागेको थियो । तर, पछि आफूलाई सच्याएपछि उनको पुत्ला जलाए पनि ज्यान भने धौधौले बचेको थियो ।
क्रिकेट यसरी रन्किएपछि यसले पारेको सकारात्मक र नकारात्मक प्रभावबारे आमखेलप्रेमीलाई सुसूचित गर्न सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हुन आउँछ । तर, यहाँ एउटा पाटोलाई मात्र उजागर गरेर धमिलो पानीमा माछा मार्ने फोहोरी खेल भइरहेको छ । किन यसो भइरहेको छ न त्यो क्रिकेट खेलाडीले बुझेका छन् न पदाधिकारीले । एउटै समाचार सुन्दासुन्दा र पढ्दापढ्दा पाठकको कान पाक्नुको साथै मुख दुखिसकेको छ र पनि लेख्न र वाचन गर्न छोडिएको छैन । नेपालले विश्वकप नै जितेर ल्याएकोजस्तो प्रचारप्रसार गरिएको छ । आखिरी किन यत्रो माइलेज ? क्रिकेटलाई सिध्याउने नौलो प्रोपोगण्डा त होइन यो, शङ्का–उपशङ्का उत्पन्न भएका छन् ।
यहाँ सत्य कुरा सबैले बुझ्नुपर्ने जरुरी भइसकेको छ । सर्वप्रथम नेपाल ट्वान्टी–२० विश्वकपमा भाग्यले साथ दिँदा पुगेको हो । छनोट चरणमै बाहिरिसकेको नेपालको मार्गप्रसस्त गर्ने काम अन्य मुलुकले गरेका थिए । उनीहरूले नेपालले चाहेकोजस्तो सफलता पाउँदा नेपालले विश्वकपको टिकट पाएको थियो । वास्तविकता यस्तो हुँदाहँुदै पनि नेपाल पहिलोपटक विश्वकपमा पुगेपछि निकै वाहवाही पाएको थियो । जसले गर्दा छनोट चरणमा नेपालले गरेको कमजोर प्रदर्शन सबै छायामा परेका थिए । जुन नेपाली टिमको सत्यता र यथार्थ भए पनि त्यो धरातलमा टेक्ने कसैले कोसिस नै गरेन । खालि नेपाल विश्वकपमा भन्ने डङ्का मात्रै पिट्न पुगे । जुन अहिलेसम्म आफैँमा सोचनीय र अनुत्तरित प्रश्न बनेको छ । त्यसलगत्तै न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा नेपालले भोगेको पराजय आफँैमा गम्भीर भए पनि त्यसको चर्चा र विश्लेषण गर्न कसैले चाहेनन् । उल्टै विभिन्न बहाना बनाएर ढाकछोप गरियो, मुलुकको कमजोरीले यस्तो नतिजा आएको भन्ने भ्रम फैलाइयो । जुन आफैँमा तथ्यहीन र गलत थियो । साँचो अर्थमा भन्नुपर्दा नेपाल एकदिवसीय क्रिकेट खेल्नै सक्तैन भन्ने उक्त पराजयको नतिजाले प्रमाणित गरेको थियो । मुलुकको प्रतिष्ठामा हिलो छ्यापिँदासमेत यसका कारकतत्व प्रशिक्षक पुदुबु दासानायकेमाथि कसैले औँला उठाउन सकेन । उनका हरेक गल्तीमा पर्दा हालियो । उल्टै अहिले पुदुबुलाई क्रिकेट खेलाडीले दूधले नुहाउँदै ‘फादर फिगर’को संज्ञा दिएर काँधमा चढाइदिए ।
ट्वान्टी–२० विश्वकप खेल्न बंगलादेश जानुअघि अभ्यास खेलमा गरेको प्रदर्शनलाई मध्यनजर गर्दा नेपालले विश्वकपको प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा स्वयम् प्रशिक्षक दायानायकेसमेत अन्योलमा थिए । उनले सञ्चारकर्मी माझसमेत कुनै ठोकुवा गर्न सकेका थिएनन् । मात्र नेपालको विश्वकपमा पहिलो सहभागिता हो, खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने कुरा बताएका थिए । तर, अनिश्चितताको खेल क्रिकेटको विश्वकपमा नेपालले ऐतिहासिकता सफलता पाएपछि दासानायके पनि रातारात हिरो बनेका थिए, क्रिकेट खेलाडीसँगै उनी पनि नायक बनेका थिए । उनका कमी–कमजोरी पनि सफलतासँगै बगेर गएका थिए । क्यानका पदाधिकारीहरू उनलाई अनुबन्ध गर्ने पक्षमा नभए पनि खेलाडीले फादर फिगर बनाउँदा आफ्नो मानसिकताविपरीत दबाबमा परेर दासानायकेलाई एक वर्षका लागि पुन: अनुबन्ध गर्न बाध्य भएका थिए । उनको यो अनुबन्धबाट अनाथ र टुहुरो हुनबाट बचेका क्रिकेट खेलाडीले भविष्यमा कस्तो चमत्कार देखाउँछन् त्योचाहिँ हेर्न लायक बनेको छ ।
हाल बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकपमा नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता पाएको कसैबाट छिपेको छैन । जुन कुरोको सबैले गौरवको अनुभूति गरेका छन् । तर, नेपाल विश्वकपमा पुगे पनि प्रारम्भिक चरणमात्रै खेलेर फर्किएको कुरा कसैले बिर्सनुहँुदैन । उक्त चरणमा जिम्बाबे र आयोजक बंगलादेशबाहेक सबै एसोसिएट राष्ट्र थिए नेपालजस्तै । नेपाल टेस्ट खेल्ने राष्ट्र बंगलादेशसँग पराजित भएको थियो भने हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । यहाँ नेपालको ऐतिहासिक सफलताको कुरा विश्वकपसँग मात्र गाँसिएको छ । अन्यथा यी राष्ट्रहरूसँग नेपालले बारम्बार खेल्दै जित्दै र हार्दै आएको इतिहास हाम्रोसामु छ । नेपालले विश्वकपमा यी राष्ट्रहरूलाई पराजित गरेकै कारणले यतिविधि चर्चा पाएको हो । अन्यथा यो नेपालका लागि खासै उपलब्धिको कुरोचाहिँ होइन भने अतिशयोक्ति नहोला । यदि नेपाल सुपर टेनमा पुगेर भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया, दक्षिण अफ्रिका वेष्टइन्डिज, न्युजिल्यान्ड र इंग्ल्यान्डजस्ता क्रिकेटका महारथी टिमसँज्ञग खेलेर उत्कृष्ट प्रदर्शन गरेको भए त्यसलाई उपलब्धिमूलक मानिन्थ्यो, त्यसको क्रेडिट पनि खेलाडीहरूले पाउँथे । तर, यहाँ बुझेर पनि बुझपचाउने कार्य भएको छ । आमनेपालीलाई गुमराहमा राख्ने कोसिस गरिँदै छ । बेलुनरूपी नेपाली क्रिकेट टोलीमाथि आवश्यकताभन्दा बढी हावा हालेर फुटाउने कोसिस भइरहेको छ ।
उपलब्धि र ऐतिहासिक सफलता केलाई भन्ने सर्वप्रथम यसको सुझ र बोध सबैलाई हुनुपर्ने जरुरी छ । आखिर नेपाल विश्वकपको ट्रफी ल्याएर नेपाल फर्किएको होइन । साँचोरूपमा भन्नुपर्दा नेपाल प्रारम्भिक चरणबाट बाहिरिएको हो । यो सत्यतालाई आत्मसात् गर्नुभन्दा व्यर्थैमा किन यत्रो बढाइचढाइ गरी राखिएको छ त्यो बुझ्न सकिएको छैन । यसले न क्रिकेटलाई फाइदा हुन्छ न आमखेलप्रेमीलाई । तसर्थ अहिले पाएको सफलतालाई भविष्यमा पनि कायम राख्न खेलाडीलाई त्यो मानसिकताका साथ तयार पार्नुपर्ने सबैको दायित्व भएको छ । अन्यथा क्रिकेटमा त्यस्ता धेरै राष्ट्र छन् जसले ट्वान्टी–२० र एकदिवसीय विश्वकप खेलेर पनि पुनरागमन गर्न सकेका छैनन् । तसर्थ नेपालको पनि यही अवस्थमा गुज्रिन नदिन वास्तविकतालाई दृष्टिगत गर्दै नेपाली खेलाडी र नेपालको गौरवका लागि प्रचारप्रसारभन्दा उचित प्रशिक्षणका लागि सबैले ठण्डा दिमागले सोच्नुपर्ने आजको आवश्यकता भइसकेको छ ।

नीति र विधिको समन्वय आवश्यक : खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपाली खेलकुद क्षेत्रको विकासका लागि नीति र विधिको समन्वय आबश्यक रहेको बताएका छन् । खेलकुदको विकासका लागि गर्नुपर्ने गृहकार्यका विषयमा खेल पत्रकारहरूसँग अन्तरक्रिया गर्दै खेलकुमन्त्री पौडेलले खेलकुद नीति र विधिको अभावका कारण समस्या रहेको र त्यसलाई समाधान गर्न आफूले प्रयास गर्ने बताएका छन् । उनले खेलकुदलाई सबैको प्रतिनिधिमूलक बनाउन आवश्यक रहेको उल्लेख गर्दै आफूले परिषद्मा लोकतान्त्रिकीकरण गर्ने बताएका थिए । मन्त्री पौडेलले परिषद्मा अहिले पुरानै पञ्चायती विधि रहेको उल्लेख गर्दै ०६७ मा बनेको खेलकुद नीतिलाई कार्यान्वयन गर्न सकेमात्रै पनि धेरै उपलब्धि हुने बताएका थिए । नीतिमा एउटा छ, तर विधिमा अर्कै छ, त्यसलाई समन्वय गर्न सके खेलकुदको विकास हुनेछ मन्त्रीले भने ।
नेपाली क्रिकेटले बंगलादेशमा गरेको प्रदर्शनबाट नेपालभर खेलकुदको माहोल बनिरहेको बताउँदै सरकार अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन तयार रहेको मन्त्री पौडेलले बताए । उनले निजी क्षेत्रले देखाएको तत्परता पनि खुसीको कुरा रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले आफ्नै लगानीमा मैदान बनाउने जानकारी गराएका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न जग्गा प्राप्तिका लागि समेत गृहकार्य भइरहेको सो अवसरमा उल्लेख गरेका थिए । उनले खेलकुद क्षेत्रमा ट्यालेन्ट हन्टलगायतका कार्यलाई समेत अगाडि बढाउने र खेलाडीको जेनेरसन ग्यापको अवस्थालाई समेत कम गर्ने योजनासमेत अगाडि बढाउने बताए । स्थानीय तहबाट नै खेलकुदको विकासका लागि कार्यहरू गर्नसमेत मन्त्रालय तयार रहेको उल्लेख गरेका थिए ।

रंगशाला अध्ययन समितिको प्रतिवेदन हस्तान्तरण
काठमाडौंको पुतलीडाँडा सामुदायिक वन तथा गाम्चा सामुदायिक वन रहेको स्थानमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न सकिने एक अध्ययनले देखाएको छ । युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन उपसचिव (हाल सामान्य प्रशासन मन्त्रालयमा सहसचिव) सूर्यप्रसाद शर्माको संयोजकत्वमा ०७० माघ ९ गते गठित अध्ययन समितिले सो निष्कर्ष निकालेको हो । शर्मासहित राष्ट्रिय खेलकुद परिषद्का निर्माण शाखा प्रमुख अरुण उपाध्याय र राखेपका इन्जिनियर सञ्जीव आचार्यको तीनसदस्यीय टोलीले आफ्नो अध्ययन प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई गत साता बुझाएका हुन् ।
अध्ययन प्रतिवेदनमा पुतलीडाँडा सामुदायिक वन तथा गाम्चा सामुदायिक वन रहेको स्थानमा चार सय मिटर गुणा तीन सय ७० मिटर जग्गा अन्दाजी सय रोपनी जग्गा उपलब्ध हुन सक्नेसहितको प्रतिवेदन बुझाएको हो । जसमा ४० हजार दर्शकलाई बस्न मिल्ने गरी अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न सकिनेछ । त्यस्तै, प्रतिवेदनले सोही क्षेत्रमा पर्ने गुठ सल्लाघारी सामुदायिक वन, रातामाटेडाँडा सामुदायिक वनलगायत एउटै स्थानमा रहेका सामुदायिक वन रहेको क्षेत्रमा चार हजार वर्गमिटर क्षेत्रफलका दरले जग्गा प्राप्त गरी आठदेखि १० वटासम्म स्पोर्टस् भेन्यु बनाउन सकिनेसमेत देखाएको छ । प्रतिवेदनमा उक्त क्षेत्रको पश्चिमपट्टि मोटरबाटो रहेको र पूर्वपट्टिको भागमा समेत मोटरबाटो रहेको र मूल सडकबाट मोटरबाटोका लागि सर्भे भइरहेको कारण पनि यातायातको हिसाबले ती क्षेत्रमा रंगशाला बनाउन उपयुक्त देखिनेसमेत औँल्याएको छ । युवा तथा खेलकुद मन्त्रालयले ०७० माघ नौ गते काठमाडौंको गोकर्ण, बालुवा र चुपिनखेल गाविसअन्तर्गत गर्ने सामुदायिक वन क्षेत्रका पर्ती जग्गामा अन्तर्राष्ट्रिय खेलकुदस्थल निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद्को आग्रहमा सो अध्ययन समिति गठन गरेको थियो ।

श्रवणको परिवारलाई रकम हस्तान्तरण
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले कर्मचारीहरूबाट उठाएको दुई लाख २० हजार १४ रुपैयाँ २३ पैसा स्वर्गीय श्रवण राईकी धर्मपत्नी पवित्रा राईलाई हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष रञ्जन थापा र महासचिव फणीन्द्र पौडेलले सो रकम हस्तान्तरण गरेका हुन् । परिषद्मा लामो समयसम्म सेवा गरेका नायवसुब्बा श्रवणको निधन भएपछि स्थायी कर्मचारीले उनको परिवारलाई आर्थिक सहयोग गर्न उक्त रकम सङ्कलन गरेका थिए । सङ्घले श्रवणको छोरीको अध्ययनका लागि उक्त रकम सहयोग गरिरहेको हो । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुख मदनजंग राणा, सङ्घका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

खेल समाचार
अमर ब्रदर्सलाई नेपाल कप फुटबल उपाधि
ऐतिहासिक नगरी जनकपुरमा लामो समयको खडेरी चिर्दै आयोजित नेपालकप फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न भएको छ । पूर्वीय भेगका चर्चित फुटबल टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताले जनकपुरलाई पुन: खेलकुदमय बनाएको थियो । नेपाल द्वन्द्वकालमा भासिएपछि जातीय विभेदका कारण तनावग्रस्त जनकपुरमा लामो समयसम्म कुनै पनि राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुन सकेका थिएनन् । यही कुरालाई आत्मसात् गर्दै र आपसी भ्रातृत्व र प्रेमलाई प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरमा नेपाल कप फुटबलका आयोजना गरिएको थियो । जुन अहिले नेपालीलाई एकताको सूत्रमा बाँध्न कोसेढुङ्गा सावित भएको अध्यक्ष लोकबहादुर शाहीले बताएका छन् । शाहीले अब जनकपुरमा प्रतेक वर्ष नेपाल कपको आयोजना गरिने बताउँदै यसले उत्कृष्ट राष्ट्रिय खेलाडी तयार गर्नमा अहम् भूमिका निर्वाह गर्ने बताएका छन् । यो शुभारम्भ हो, क्लाइमेक्स बाँकी नै छ, त्यसले फुटबलको समग्र विकासमा अहमे् निर्वाह गर्ने शाहीको दाबी थियो ।
काठमाडौंको अमर ब्रदर्स क्लबले प्रथम नेपाल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जनकपुरको कभर्डहलस्थित खेलमैदानमा भएको उपाधि भिडन्तमा अमर ब्रदर्सले चपुर ११, चन्द्रनिगाहपुरलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नकसेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । अमर ब्रदर्सका पुकार गहतराज, पाल्साङ लामा, विकास गौचन र जसबहादुर राईले गोल गरेका थिए भने कृष्ण लामाको प्रहार बाहिरिएको थियो । चपुरका राजु मण्डल र सुलभजंग राणाले बललाई जाली चुमाए । चपुरका अरुण गुरुङ र राजेश चौधरीको प्रहार अमर ब्रदर्सका गोलरक्षक किशोर गिरीले बचाएपछि अमर ब्रदर्स उपाधि सुनिश्चित गर्न सफल भएको थियो । किशोर उत्कृष्ट गोलरक्षक पनि चुनिए ।
उपाधिसँगै अमर ब्रदर्सले ५० हजार नगद पुरस्कार पायो भने चपुरले २५ हजारमा चित्त बुझायो । चपुरका नूरराज काफ्ले सर्वोत्कृष्ट खेलाडी चुनिए भने एभरेस्ट क्लब, महोत्तरीका टंकु लामा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । उनले ह्याट्रिकसहित पाँच गोल गरेका थिए । प्रतियोगितामा कुल दुई ह्याट्रिक सम्भव भएको थियो । टंकुकै टोलीका श्यामबासु मगरले पनि ह्याट्रिक गरेका थिए । उत्कृष्टत्रयले समान दुई हजारका दरले नगद पुरस्कारसहित ट्रफी पाए । विजेतालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुरस्कार वितरण गरेका थिए । चैत ८ देखि सुरु नकआउट प्रतियोगितामा १२ पुरुष टिमले सहभागिता जनाएको आयोजक क्लबका सहसचिव हरि मानन्धरले जनाएका छन् ।

सोह्र पूर्वखेलाडी खेलाडी सम्मानित
जनकपुरमा भएको नेपाल कप फुटबल प्रतियोगिताको समापनका अवसरमा आयोजक स्पोर्टस् फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद सङ्घ, नेपालले विभिन्न ६ खेलका १६ पूर्वराष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । फुटबलका ११ तथा क्रिकेट, भलिबल, ह्यान्डबल, कबड्डी र सितोरियो करातेका समान एक–एक सम्मानित भएका थिए । सम्मानित हुने फुटबलरमा अमर थापा, प्रकाशजंग राणा, अनिल रूपाखेती, पुष्प केसी, जीवन लामा, पारस चौधरी, हरि मानन्धर, राजेश थापा, पुनम थापा, ललित थापा र देवेन्द्र बस्नेत रहेका छन् । सम्मान थाप्ने अन्यमा क्रिकेटका सञ्जय ठाकुर, भलिबलका सुनील मानन्धर, ह्यान्डबलका पवनलाल कर्ण, कबड्डीका सरोज सिंह र करातेका रामचन्द्र ठाकुर छन् । अमर, सुनिल र सरोजबाहेक सबै खेलाडीले कुनै बेला खेलकुदमा आफ्नो छुट्टै पहिचान बनाएको जनकपुर चुरोट कारखाना लिमिटेडबाट खेल्ने गर्थे । ०२० मा नेपालले पाकिस्तानमा भएको आहा खान गोल्ड कप खेल्दा अमर नेपाली टोलीका उपकप्तान थिए । अमर पुनम, ललित र राजेशका पिता हुन् । नेपालले छैटौँ दक्षिण एसियाली महासङ्घीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) अन्तर्गत फुटबलमा स्वर्ण जित्दा जीवन र राजेश नेपाली टोलीका हिस्सा थिए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनीहरूलाई दोसल्ला ओढाउनुका साथै ताम्रापत्र प्रदान गरी सम्मान गरेका थिए । ‘जुन ठाउँबाट मैले आफ्नो खेलको करियर सुरु गरे आज त्यही ठाउँमा सम्मानित हुन पाउँदा खुसी लागेको छ,’ सम्मानित भएपछि राजेशले भने ।

मल्लद्वारा पाँच लाखसहित खेल सामग्री प्रदान
जनकपुरमा सम्पन्न प्रथम नेपाल कप फुटबल प्रतियोगितामा सहभागी स्थानीय टिम मनिमण्डप युवा क्लब, जनकपुरलाई खेल सामग्री प्रदान गरिएको थियो । प्रतियोगिता संयोजक मनोज मल्ल ठकुरीले आफ्नो व्यक्तिगत खर्चमा टिमलाई सामग्री प्रदान गरेका हुन् । मल्लले मनिमण्डपका कप्तान विकाउ रावतलाई २६ थान जुत्ता र २२ थान जर्सी सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरे । ९५ हजार ६ सय रुपैयाँ मूल्यबराबरको सामग्री प्रदान गरिएको थियो । उक्त अवसरमा पूर्व राष्ट्रिय फुटबलर हरि मानन्धर, अनिल रूपाखेती, जीवन लामा र प्रकाशजंग राणालगायतको उपस्थिति रहेको थियो । पूर्वमन्त्री स्व. हेमबहादुर मल्लका छोरा तथा नेपाल कप फुटबल प्रतियोगिताका संयोजक मनोज मल्लले नेपाल कप सञ्चालनका लागि पाँच लाख प्रदान गरेका थिए । प्राप्त जानकारीका अनुसार अर्को वर्षदेखि स्व. हेमबहादुर मल्लको नामबाट नेपाल कप सञ्चालन हुने थाहा भएको छ । मल्ल हालै सम्पन्न दोस्रोे संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार थिए । उनी राप्रपा नेपालका जमानत जफत नहुने चार उम्मेवारमध्ये एक हुन् । उनलाई जनकपुरमा समाजसेवीको रूपमा पनि चिनिन्छ ।

पण्डित अफ्रिका प्रस्थान
अफ्रिका महादेशको उच्च शिखर माउण्ट किलिमन्जरो आरोहणका लागि सगरमाथा आरोही अल्ट्राधावक सञ्जय पण्डित बुधबार अफ्रिका प्रस्थान गरेका छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिम्सिनाले अन्तर्राष्ट्रिय विमानस्थलमा फूलमाला लगाएर बिदाइ गरेका थिए । सो अवसरमा बोल्दै पूर्वउपाध्यक्ष तिम्सिनाले सगरमाथाको समेत आरोहण गरेर सञ्जयले सबैको नाम राखेको उल्लेख गर्दै किलिमन्जरोको पनि सफल आरोहण गर्नेमा आफू ढुक्क रहेको बताएका थिए । सञ्जयलाई युरोपको प्रतिष्ठित ट्रर्किस एयरलाइन्स कम्पनीले हवाई टिकटको प्रयोजन गरेको छ ।

बेन्च प्रेसमा ज्ञानेन्द्रलाई स्वर्ण
दिल्लीमा भएको इन्डियन ओपन अन्तर्राष्ट्रिय बेन्च प्रेस च्याम्पियनसिपमा नेपालका ज्ञानेन्द्र नकर्मीले स्वर्ण जितेका छन् । ज्ञानेन्द्रले मास्टर्सतर्फ ९० केजी तौलसमूहमा स्वर्ण जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । प्रतियोगितामा मास्टर्सबाहेक अन्य दुई स्पर्धामा पनि नेपाली खेलाडी पदक जित्न सफल भएका थिए । ९० केजीमा बुद्धिजंग कार्कीले रजत जितेका थिए । हालै पाकिस्तानको लाहोरमा सम्पन्न दशाँै दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता ज्ञाननारायण महर्जनले ७५ केजीमा कास्य प्राप्त गरे । अर्का सहभागी मनोज खड्गी पदकविहीन बने । प्रतियोगिता द जिम क्लब, दिल्लीले आफ्नो ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको हो ।

ह्यान्डबल सङ्घद्वारा दु:ख व्यक्त
नेपाल ह्यान्डबल सङ्घका पूर्वअध्यक्ष एवम् नेपाल प्रहरीका पूर्वमहानिरीक्षक डीबी लामाको निधनप्रति नेपाल ह्यान्डबल सङ्घले गहिरो दु:ख व्यक्त गरेको छ । नेपालको ह्यान्डबल खेलको विकासमा उहाँले पु-याएको अतुलनीय योगदानको स्मरण गर्दछौँ । यस दु:खद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ ।’ ह्यान्डबल सङ्घका अध्यक्ष तेज गुरुङद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मुवाथाईमा भूपेशलाई कास्य
भूपेश शाक्यले प्रथम विश्व मुवाथाई च्याम्पियनसिपमा कास्य पदक हात पारेका छन् । उनले मार्च १२ देखि मार्च २१ सम्म थाइल्याडको अयोजयामा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट ६३.५ केजीको प्रो–एएममा तेस्रो स्थान प्राप्त गरेका थिए । मलेसियाका खेलाडीलाई जितेर सेमिफाइनलमा प्रवेश गरेका भूपेश अस्टे«लियन खेलाडी Man Yat Av सँग पराजित भएका थिए । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण निजलाई १५ दिनका लागि नि:शुल्क टे«निङ गर्न अवसर पाएका छन् । उक्त प्रतियोगितामा नेपालसहित ३७ राष्ट्रको सहभागिता रहेको कुरा नेपाल मुवा सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिएका छन् ।