खरेलप्रति गृहमन्त्री किन पूर्वाग्रही ?– विनोद नेपाल

खरेलप्रति गृहमन्त्री किन पूर्वाग्रही ?– विनोद नेपाल


bicharठूलो मोलमोलाइपछि उपप्रधान एवम् गृहमन्त्रीका रूपमा मन्त्रिमण्डलमा समावेश भएका वामदेव गौतमले यसपालि विगतकोजस्तो काम नगर्ने र छवि सुधार्ने बताउँदै शान्तिसुरक्षा र न्यायका लागि आफू लागिपर्ने दाबी गर्दै आएका छन् । उनको विगत सबैलाई जानकारी नै भएको विषय भएकाले कोट्याउन जरुरत भएन । अझ उनले यस्ता सकारात्मक कुरा गरिरहँदा उनको आलोचना गर्नु वा विगतका कुरा उठाएर उनीप्रति पूर्वाग्रही बन्नुको पनि कुनै औचित्य छैन, किनकि सुध्रन चाहनेलाई सुध्रन दिनुपर्छ ।
तर, यिनै गृहमन्त्रीका कतिपय अवसरमा सार्वजनिक हुने गरेका अभिव्ययक्तिले भने उनीमाथिको आशा निराशामा परिणत हुन थालेको छ । यसै क्रममा काभ्रेको धुलिखेलमा आफ्नो दलको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालको तेस्रो पूर्ण बैठकमा एक प्रहरी अधिकृतप्रति उनी व्यक्तिगत रूपमै जसरी खनिए र उनीबाट जे–जस्ता धारणा अभिव्यक्त भए तिनले भने उनको मानसिकताका बारेमा केही टिप्पणी गर्नैपर्ने बाध्यता उत्पन्न भएको छ । सो कार्यक्रममा गौतम महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश खरेलविरुद्ध खनिएका हुन् ।
सो कार्यक्रममा उनले ‘काठमाडौंमा सिंहदरबार छ, सिंहदरबार कम्पाउन्डभित्र गृह मन्त्रालय छ, मन्त्रीहरू बस्ने क्वाटर ललितपुरमा छ, त्यो एसएसपी मसँग भेट गर्न आएको छैन, मलाई अरू कुनै सन्दर्भमा सलाम गरेको होला मलाई चाहिएको पनि छैन, म मन्त्री भएको डेढ महिनाभन्दा बढी भइसक्यो, मसँग आएर भेट्दा उसको स्वाभिमान गिर्छ भन्ने उसले ठानेको छ, त्यसो भएर म पनि हेर्दै छु’ भनेका रहेछन् ।
यसो भनेर उनले एकातिर ‘मलाई सलाम चाहिएन’ पनि भन्ने अर्कोतिर भेट्न आएन भनेर कार्यालय र निवासको ठेगानासमेत बताएर चाकडी गरेन भन्ने मनसाय पनि व्यक्त गरेका छन् । पक्कै पनि रमेश खरेल सिंहदरबार वा मन्त्रीनिवास नदेखेका र गौतमले ठाउँठेगाना बताइरहनुपर्ने व्यक्ति होइनन् । यो कुरा गृहमन्त्रीलाई थाहा नहुने कुरो भएन । तर, यसरी अभिव्यक्ति दिनुको मतलब चाकडी खोजेकै हो भन्ने बुझ्नुमा अन्यथा हुने देखिँदैन । यसैले खोजेको चाकडी नै हो र त्यही नभएर वा सलाम नपाएर यसरी आक्रोशित भएका हुन् भन्ने बुझ्न पनि कठिन छैन ।
यसैगरी उनको सम्बोधनमा एउटा वरिष्ठ प्रहरी अधिकृतलाई जसरी सम्बोधन गरिएको छ त्यो पनि शोभनीय छैन । यसमा उनको मर्यादाप्रति पनि बेवास्ता गरिएको छ । ‘मातहतका सबैलाई कमसेकम तिमी भन्ने सम्बोधन गर्नुप¥यो’ भनेर सिकाउँदै हिँड्ने गृहमन्त्रीले नै एउटा वरिष्ठ प्रहरी अधिकृतलाई जसरी सम्बोधन गरेका छन् त्यो उनकै सुझावविपरीत छ । र त्यो पनि उनको आक्रोशकै परिणाम हो भन्नेमा कुनै दुईमत हुन सक्दैन । गृह मन्त्रालयले आफ्नो एउटा गर्व गर्नुपर्ने प्रहरी अधिकृतमाथि आफैँ गृहमन्त्री भएर यसरी आरिस झल्कने गरी आक्रोश पोख्नु निकृष्टताको परिचायक हो ।
गौतमले ‘मानिसलाई पक्रने, हल्ला चलाएर, पत्रकार सम्मेलन गरेर तिनलाई सार्वजनिक पनि गर्ने तर केही दिनमै रिहा गरेर केवल चर्चामा आउने प्रयास मात्र गरिरहेको’ भन्दै खरेलको आलोचना पनि गरेछन् । उनले खरेल ‘प्रहरी सेलिबे्रटी बन्न खोजेको’ टिप्पणी गरेका र गृहमन्त्रीले एउटा प्रहरी अधिकृतको सार्वजनिक ढङ्गले आलोचना गर्दा युवा सङ्घका कर्यकर्ता ताली पिटिरहेका पनि सञ्चारमाध्यमले जानकारी दिएका छन् । जब कि युवा सङ्घको भेला एउटा प्रहरी अधिकृतको आलोचना गर्ने अवसर र थलो पनि होइन र हुन सक्दैन ।
तर गृहमन्त्री यसरी खरेलमाथि खनिनुको कारण केही दिनअघि युवा सङ्घका एक केन्द्रीय सदस्यको गिरफ्तारी भएको विषय रहेछ भन्ने पनि समाचारले प्रस्ट गरेका छन् । यस सन्दर्भमा सुशासनको, शान्तिसुरक्षाको र न्यायको कुरा गर्ने गृहमन्त्रीले आफ्ना कार्यकर्ता पक्राउ परेको आक्रोश यसरी पनि पोख्दा रहेछन् भन्ने प्रस्ट भएबाट उनको छवि सुधारको घोषणा र निष्पक्षताको नारा पनि देखावटी नै भएको ठान्नुपर्ने भएको छ । अझ गृहमन्त्रीले एउटा प्रहरी अधिकृत आफूलाई भेट्न नआएकोमा ‘म पनि हेर्दै छु’ भनेर दिएको धम्कीले उनको नियत सहजै बुझ्न र खरेलमाथि कुनै पनि समय केही हुन सक्ने अनुमान पनि गर्न सकिन्छ ।
स्मरण रहोस्, कुनै पनि राष्ट्रसेवक जो आफ्नो कर्तव्यप्रति सदैव सजग रहन्छ उसले कसैको चाकडी, चाप्लुसी वा ‘जी–हजुरी’ गर्नुहुँदैन, गर्दैन, गरिरहनुपर्ने आवश्यकता हुँदैन । चाहे जो जहाँ पुगोस् ऊ आफ्नो कर्तव्यमा लागिरहन्छ । तर, हाम्रा धेरै कम राष्ट्रसेवकमा मात्र यस्तो चरित्र छ । चाकडी, चाप्लुसीको संस्कार नै बनेको छ । चाकडी, चाप्लुसीका पछि नलाग्ने र कर्तव्यनिष्ठ राष्ट्रसेवकको अभाव नै दुईकौडीका र हैसियत नभएका नेताहरूको चुरीफुरी बढ्नुको कारक हो । यो कुराचाहिँ समस्त राष्ट्रसेवकले हेक्का राख्नैपर्छ ।
साँच्चै गलत काम गरिरहेको र गौतमले भनेजस्तै चर्चामै आउनका लागि मात्र खरेलले काम गरेका छन्, कर्तव्यबाट विचलित भएका छन् भने उनीमाथि कारबाही गरिहाल्नुपर्छ, होइन भने मन्त्रीबाटै आएका यस्ता अभिव्यक्तिलाई सामान्य रूपमा लिने होइन, आगामी दिनमा यस किसिमका असान्दर्भिक टीका–टिप्पणी नहोस् भन्नेतर्फ पनि सबैको ध्यान जानुपर्छ । अस्वाभाविक आक्रोशका नकारात्मक परिणाम निस्कने हुँदा यसप्रति सबै नै होसियार र सजग हुनुपर्छ ।