स्रष्टाहरूले कसलाई दाँजे कुकुर र बाँदरसँग ?

स्रष्टाहरूले कसलाई दाँजे कुकुर र बाँदरसँग ?


संविधान निर्माण, राजनीतिक सहमति र शान्तिका लागि दबाब सिर्जना गर्न पारिजात स्मृति केन्द्रको आयोजनामा स्रष्टाहरूले नेताहरूको निवासमै गएर काव्यात्मक खबरदारी गरिरहँदा निर्धारित समयमा संविधान बन्न नसक्ने अभिव्यक्ति आएपछि स्रष्टाहरू चिन्तित बनेका छन् ।
सँगसँगै निर्वाचनमा जाने, संविधानसभाको आयु लम्ब्याउने सत्ताको हानथाप गरिरहने तर संविधान बन्न नसकेको कारणचाहिँ जनतालाई थाहा नदिने दलहरूको निर्लज्जतापूर्ण व्यवहार र बोलीले मुलुकको स्वाधीनता नबचाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत नगर्ने प्रस्टिँदै आएको उनीहरूको कथन छ । स्रष्टाहरू स्नेह साय्मि, पूर्णविराम, मातृका पोखरेल, रायन, अस्मिता मानन्धर, राजेन्द्र शलभ, सन्ध्या पहाडी, गीता कार्की, महेश मास्के, अतृप्त पाण्डे, केशव सिलवाल, हीरा महर्जन, तिलक चाम्लिङ, लक्ष्मी माली, वासुदेव अधिकारी, कुसुम ज्ञवाली, भावना पोखरेल र सुकन्या वाइबाले आफैं मिल्न नसक्ने, मिलाइदिनका लागि तेस्रो शक्तिको खोजी गर्नैपर्ने यी दलहरूका कारण मिलाइदिने शक्ति नै र्सवशक्तिवान हुँदै गइरहेको र दलहरूको असमझदारीको फाइदा लिई मुलुकलाई अँध्यारोतिर धकेल्न त्यही शक्तित उद्यत् भएको दाबी पनि गरेका छन् । रोटीका लागि झगडा गर्ने कुकुरहरूलाई न्याय दिलाइदिनेका नाममा आफंैले सबै रोटी खाइदिने बाँदर न्यायाधीशको कथासँग दाँज्दै उनीहरूले दलहरू मुलुकको निर्णायक शक्ति आफैं ग्रहण गर्नुको सट्टा कुनै मालिकलाई सुम्पेर आफू त्यसैको आदेशमा खट्न तयार देखिएको आरोप लगाएका छन् ।
संविधान नबनाउने, राजनीतिक सहमति भाँड्ने र शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा नपुर्‍याउने कुनै पनि बहानाबाजी अब नेपाली जनतालाई स्वीकार्य छैन भन्दै छोटो समयमै मुलुकलाई अग्रगामी निकास दिनेगरी सहमति जुटाउन, निर्धारित समयभित्र संविधान निर्माण सम्पन्न गर्ने दिशातिर अग्रसर हुन, हालसम्म संविधान निर्माण गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिई जनतासँग माफी माग्न र तोकिएको कामका लागि आर्थिक र भौतिक लाभ ग्रहण गरेकोमा सो कार्य पूरा नभएकोमा सबै सुविधा र लाभहरू फिर्ता गर्न प्रधानमन्त्री, मन्त्रीहरू, संविधानसभा सदस्यहरू एवम् लाभ-सुविधा लिने सबैलाई अबउप्रान्त नलिन आग्रह पनि उनीहरूले गरेका छन् ।-प्रतिभा कँडेल
कम्युनिस्ट एक हुन किन सक्दैनौँ ?
विश्व कम्युनिस्ट आन्दोलनको सर्न्दर्भमा भन्नुपर्दा अप्रिल लेनिन दिवसलाई कम्युनिस्टहरूले अति महत्त्व दिने गरेका छन् । त्यसैकारण ६० वर्षअगाडि १९४९ अप्रिल २२ तद्नुसार वैशाख १० गते लेनिन दिवसको दिन पारेर नवीन सरकारले पङ्कज कुमार -भाकपा सदस्य)को डेरामा हामी चारजना पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी भएर क. पुष्पलालले लेखेर ल्याएको हस्तलिखित कम्युनिस्ट घोषणापत्र दुईपटक पढेर पास गरिएको हो । साथै त्यसैबेला राणा शाहीविरोधी पर्चा पनि पढेर पास गरिएको थियो । जुन पर्चा कम्युनिस्ट पार्टीको नामबाट वैशाख १२ गते छापेर प्रकाशित गरिएको थियो । त्यसैले २२ अप्रिल लेनिन दिवसको दिनलाई ‘कम्युनिस्ट पार्टी’को जन्म दिवस मनाउने गरिएको हो ।
पार्टी गठनको करिब १ महिनापछि हामीलाई निर्देशन दिने नृपेन्द्र चक्रवर्तीले चारजनाको बदला पाँच भए राम्रो हुन्छ भनेकोले मोतीदेवी श्रेष्ठको डेरा गणेशटकीमा गंगालाल श्रेष्ठ -हलुवाई)लाई बोलाएर कुरा गरेको र कुराको दौरानमा राष्ट्रिय कम्युनिस्ट पार्टी बनाउनुपर्छ र पुष्पलालको नेतृत्वमा म बस्दिनँ भनेर गंगालाल उठेर गएपछि नृपेन्द्र चक्रवर्तीले अब मोतीदेवीलाई नै राख भनेकाले पुष्पलालले मोतीदेवीलाई राख्नुभएको हो । यही कुरा २०४५ सालमा प्रकाशित एक साप्ताहिक पत्रिकामा मोतीदेवी आफैंले ‘मलाई पुष्पलालले पछि थपेको’ भनेर अन्तर्वार्ता दिनुभएको थियो । अतः मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीकी संस्थापक होइनन् ।
हामीले पार्टी गठन गर्दा नेपालमा अहिलेजस्तो धेरै कम्युनिस्ट पार्टीहरू हुन्छन् भन्ने सोचेका थिएनौँ । विश्वका हरेक मुलुकमा कम्युनिस्ट पार्टीहरू त्यसबेला एउटा एउटा मात्रै थिए । रुस, चीन, दक्षिणपूर्वी युरोप, इन्डोनेसिया, भियतनाम आदि । भारतमा पनि रणदिवेको नेतृत्वमा एउटै कम्युनिस्ट पार्टी थियो । अनि नेपालमा थुप्रै कम्युनिस्ट पार्टी हुनु दुःखको कुरा हो । अतः नेपालमा भएका क्रान्तिकारी कम्युनिस्ट, जसले आफूलाई मार्क्सवादी लेनिनवादी मजदुर वर्गको पार्टी भन्छन्, आपसी मतभेदलाई अन्तरसङ्घर्षद्वारा टुङ्ग्याउने गरी एक हुन आवश्यक छ । यदि तुरुन्तै एक हुन नसकेमा पनि सामन्तवाद र साम्राज्यवादविरोधी संयुक्त मोर्चा त गर्न सकिन्छ होला । संसद्मा ६२ प्रतिशत स्थान ओगटेका कम्युनिस्टहरूलाई जनताको चाहना अग्रगामी जनसंविधान र शान्तिका लागि एकजुट भएर लाग्न अपिल गर्दछु ।
-नरबहादुर कर्माचार्य, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य
म त अनशन बस्ने भएँ
नेपालका दलहरू २००७ सालदेखि आजसम्म न्यूनतम् सहमतिमा एक भएको कहिल्यै पाइएन । यसबीच गिरिजाबाबुले प्रयास गर्नुभएको हो, उहाँको प्रयास अति प्रशंसनीय छ । तर, माओवादीको दम्भ -सम्पत्ति कब्जा, जथाभावी कुटपिट, एकोहोरो जातीय राज्यको रट आदि) ले गर्दा उहाँँ आजित हुनुहुन्थ्यो । ठूला ३ दल न्यूनतम सहमतिमा एक भएर मधेसवादी दलहरू, साना दलहरू एवम् राजपा, राप्रपा -पशुपति)लाई साथ लिएर नेपालको सर्वोत्तम हितका लागि अघि नबढ्ने हो भने म एक हप्तापछि संविधानसभा भवनअगाडि अनशन बस्नेछु । सद्उद्देश्यबाट प्रेरित उक्त अनशनमा साथ दिन सम्पूर्ण मानवाधिकारवादी संस्थाहरू एवम् नागरिक समाजलाई विनम्र अनुरोध गर्छु । लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनैपर्छ, यो जनताको आवाज हो । माओवादी- लोकतन्त्रमा आउनूस् ।
– प्रसन्नकुमार कोइराला,  नेपाली काङ्ग्रेसको एक सक्रिय सदस्य