नेपालको राजनीतिमा किसुनजी र सुशील’दा

नेपालको राजनीतिमा किसुनजी र सुशील’दा


bichar– वीरेन्द्रमणि पौडेल
कहिल्यै पनि स्थिर हुन नसकेको नेपालको राजनीतिमा थुप्रै नेताको नाम विभिन्न कारणले चर्चामा आउने गरेको छ । पृथ्वीनारायण शाहले साना–साना भुरे–टाकुरे राज्यलाई बलजफ््ती कब्जा गरेर भूभाग वृद्धि गरी नेपाल राष्ट्र निर्माण गरे । पृथ्वीनारायण शाहको त्यो विस्तारवादी चरित्रका कारण नेपाल नामको देश बन्यो । आजसम्म उनकै कारणले हामी ‘नेपाली’ भनिरहेका छौँ त्यसकारण तिनले हामीलाई ‘नेपाली’ भन्ने मौका दिएका हुनाले उनको नाम बेलाबखत लिने गरिन्छ । जंगबहादुर राणाले तरबार चलाएर केही भारदारहरूको गर्दन छिनाएर शासन कब्जा गरी जहानियाँ शासनको सुरुआत गरेको, त्यो जहानियाँ शासन लगातार एक सय चार वर्षसम्म कायम रहेको हुँदा र पहिले गुमेको कैलाली, कञ्चनपुर, बाँके र बर्दिया तिनले बडो चतु-याइँपूर्वक फिर्ता गरेको हुँदा तिनको नाम यदाकदा लिने गरिन्छ । जंगबहादुरपछि देश छाडेर भाग्ने राजा त्रिभुवनको नाम आउँछ । उनका छोरा महेन्द्रको नाम प्रजातन्त्रलाई कुशलतापूर्वक हत्या गर्न सफल भएकाले चर्चामा आउँछ । ०१५ मा निर्मित संविधानको धारा ५५ प्रयोग गरेर उनले सरकार र संसद् विघटन गरेका थिए । जनचाहना र राष्ट्रिय आवश्कयता प्रतिकूल भए पनि महेन्द्रको त्यो कदम अवैधानिक थिएन । यसकोणबाट उनको कदमलाई कुशलतापूर्वक गरिएको प्रजातन्त्रको हत्या भन्न सकिन्छ । यति मात्र होइन, नेपालको राजनीतिक क्षेत्रमा उनलाई एक नम्बरका राष्ट्रवादी र त्यही हाराहारीमा प्रजातन्त्रविरोधीको रूपमा चित्रित गरिन्छ । बीपी कोइरालाको आज पनि चर्चा हुन्छ । उनी प्रजातन्त्रका हिमायती मात्र थिएनन् । अक्षर बुनेर सुन्दर साहित्य सिर्जना गर्थे । साहित्यकार र कुशल राजनीतिज्ञको परिचय उनले एकसाथ हासिल गरेका थिए । नेपालमा मात्रै होइन छिमेकी मुलुक भारत, चीन र आसपासका थुप्र्रै देशमा उनको बहुमुखी व्यक्तित्वको चर्चा हुन्थ्यो । मदन भण्डारीले कम्युनिस्ट भन्न पनि मिल्ने लोकतन्त्रवादी भन्न पनि मिल्ने, मानव स्वभाव र चाहनासँग मेलखाने खालको नयाँ ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिपादन गरेर दुनियाँलाई आश्चर्यचकित तुल्याए । विश्वभरिका मानव समुदायलाई आश्चर्य मान्न बाध्य तुल्याएका कारणले र उनको मृत्यु पनि त्यस्तै अस्वाभाविक तरिकाले भएको हुँदा उनको चर्चा आज पनि बेजोडले हुन्छ । राजनीतिमा हात हालेकै कारण स्वर्गीय राजा वीरेन्द्र र आफैँ राजा आफैँ मन्त्रिपरिषद्को अध्यक्ष भई असफल शासन गरेका ज्ञानेन्द्र राजाको चर्चा हुन्छ भने अप्ठ्यारो र जटिल युगमा पनि जनयुद्धको नेतृत्व गरेर फेरि उही थलोमा आई प्रधानमन्त्रीसम्म भएका अनौठा राजनीतिज्ञ पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्चा हुन्छ । यो देशमा राजनीतिज्ञहरू अनगिन्ती छन् । दलहरूसमेत गनिसाध्य नभएको मुलुकमा राजनीतिज्ञहरू अनगिन्ती हुनु आश्चर्यको विषय भएन । जहाँसम्म नेपालका राजनीतिज्ञहरूको सवाल छ सबै राजनीतिज्ञहरू विवाहित रहे । तिनले घर जोडे । सम्पत्ति र नातागोता सिर्जना गरे, तर कृष्णप्रसाद भट्टराई र सुशील कोइराला नेपाली काङ्ग्रेस पार्टीका यस्ता चर्चायोग्य राजनीतिज्ञ बने जसले जीवनभरि कुनै स्त्रीलाई स्थायी श्रीमतीको रूपमा भित्र्याएनन् । दुवैजना त्यही पार्टीबाट प्रधानमन्त्री बने । कृष्णप्रसाद भट्टराई कामचलाउ प्रधानमन्त्री बनेर ०४७ मा बहुदलीय संविधान बनाउने काममा समेत सक्रिय रहे । आज पनि त्यो संविधान बनाउने कामको मुख्य श्रेय तिनलाई नै दिने गरिएको छ । त्यतिबेला भन्ने गरिन्थ्यो– नेपालको राजनीतिक इतिहासमा अविवाहित रहेका कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका छन् त्यसैले अब यो मुलुकमा आर्थिक भ्रष्टाचार हुँदैन । तर, त्यो भनाइ बिलकुल गलत सावित भएको थियो । भ्रष्टाचार यसरी हुन्थ्यो ।
कृष्णप्रसाद भट्टराई चौपट्टै रक्सीप्रेमी थिए । भनिन्छ दुनियाँमा कोही धनप्रेमी हुन्छन्, कोही पदप्रेमी त कोही तरुनीप्रेमी हुन्छन् । ती थरीथरीका मान्छेमध्ये अविवाहित रहेका कृष्णप्रसाद भट्टराई रक्सीप्रेमी थिए । स्वादिलो र मगमग बासना आउने खालको रक्सी भन्ने शब्द मात्रै कसैले उच्चारण गरिदियो भने कृष्णप्रसाद भट्टराईको मुख रसाइहाल्थ्यो । यस्तो अवस्थामा उनी प्रधानमन्त्री भएका थिए । वैधानिक स्वास्नी थिएन जसका कारण सुनका गहना, गाडी र घरजग्गा कमाइदिन पर्थेन । छोराछोरी पनि नभएका कारण अन्य खालका अनियमित काम गरेर छोराछोरीको चित्त बुझाउनुपर्र्ने अवस्था पनि थिएन । उनलाई चाहिएको थियो त सिर्फ रक्सी चाहिएको थियो । प्रधानमन्त्रीको कुर्सीमा कृष्णप्रसाद भट्टराई थिए । गृहमन्त्री थिए शेरबहादुर देउवा । रत्नशमशेरलाई छिर्के हानेर आफू प्रहरी महानिरीक्षक भएका थिए चतुरमान मोतीलाल बोहरा । राति कृष्णप्रसाद भट्टराईको मुख सकसकाएपछि गृहमन्त्री शेरबहादुर देउवाकहाँ टेलिफोनको घन्टी बज्थ्यो । भनिन्थ्यो, ‘प्रमज्यूलाई तीन बोतल रेडलेबल चाहियो ।’ देउवाकहाँबाट मोतीलालकहाँ फोन बज्थ्यो र भनिन्थ्यो, ‘२० बोतल रेडलेबल बन्दोबस्त गर्नू ।’ मोतीलालले मध्यक्षेत्रका डीआईजीलाई आदेश दिन्थे, ‘५० बोतल रेडलेबलको बन्दोबस्त मिलाउनू ।’ डीआईजीले तलकालाई आदेश दिन्थे, ‘१०० बोतल रेडलेबल सबैजना मिलेर जम्मा गर्नू ।’ उसले उसलाई, उसले उसलाई सर्कुलर गर्दागर्दै वडा प्रहरी इन्चार्ज इन्स्पेक्टरले आफूमातहतकालाई भन्थे, ‘माथि रेडलेबल चाहिएको छ । बन्दोबस्त गर्न बजार घुमेर आउनू ।’ अर्थात् व्यापारीहरूसँग फकाएर वा धम्क्याएर रकम मागेर ल्याउनु । यो तरिकाले त्यतिबेला भ्रष्टाचार हुन्थ्यो । जसको परिवार छैन, नातापाता छैन, भ्रष्टाचार गरेर कसैलाई धन थुपारिदिनु छैन उसको रक्सी खाने चाहनाका कारण यो तरिकाले देशमा आर्थिक भ्रष्टाचार र अनियमितता हुन्थ्यो भने अन्य बाँकी घरपरिवारवाला व्यक्ति यो देशमा प्रधानमन्त्री भएका बखत कहाँ र कतिसम्म भ्रष्टाचार भएको हुँदो हो सजिलै अनुमान लगाउन सकिन्छ । त्यसै आज यो देश भ्रष्टाचारीहरूको देशका नामले चिनिएको होइन । कृष्णप्रसाद भट्टराईको पेटभित्र सिर्फ तीन बोतल विदेशी रक्सी छिरेको थियो । बाँकी भ्रष्टाचार अरूले गरेका थिए । अब धर्मसङ्कटले जेलिएको एउटा प्रश्न छ, ‘कृष्णप्रसाद भट्टराई भ्रष्टाचारी हुन् कि होइनन् ?’ हो भनौँ होइनन्, होइनन् भनौँ भने हुन् । एउटा व्यक्तिको खराब आचरणले समेत आर्थिक भ्रष्टाचारलाई मलजल गर्छ भन्ने प्रमाण कृष्णप्रसादको रक्सी पिउने लतले दिन्छ । अब चर्चा गरौँ बहालवाला प्रधानमन्त्री सुशील कोइरालालाको । सुनिन्छ यिनले त रक्सी पनि पिउँदैनन् । सम्पत्तिको नाममा लाएको कपडा र उनले बोक्ने गरेको तीनवटा मोबाइल सेट मात्रै छ । गिरिजाप्रसाद कोइरालाले पखाला लागेर मर्ने बेलामा प्रचण्डसँग वरदान मागेका थिए, ‘प्रचण्डजी, चुनाव प्रचारमा पनि नगएर मैले तपाईंलाई नेपालको प्रधानमन्त्रीसम्म हुने बाटो खुला गरिदिएँ, मेरो अन्त्यपछि अलि बुद्धि कम भएकी मेरी छोरी सुजातालाई हेरविचार गर्दिनुहोला है ।’
सुशील कोइरालाको त यसरी कसैलाई रोइकराइ गरेर अनुरोधै गर्न पर्ने खालका मान्छे पनि छैनन् । यिनले त पक्कापक्की भ्रष्टाचार बढाउँदैनन् । भ्रष्टाचार बढाउने खालको काम गर्दैनन् । हुन त हो यिनले भ्रष्टाचार बढ्ने बढाउने खालको कुनै पनि काम गरेका छैनन्, तर सोह्रैआना विडम्बनाको विषय यो भएको छ कि यिनले विवादमा पर्छु कि भन्ने डरले कुनै पनि काम गरेका छैनन् । प्रधानमन्त्री भएको चार महिना पुग्न लाग्यो, तर यतिबेलासम्म माखो मारेका छैनन् । जनताले सुशील कोइराला प्रधानमन्त्री भएर गतिलो काम गर्छन् भनेर भोट दिएर पठाएका थिए, तर यिनले त आफू विवादमा पर्छु भन्ने डरले कुर्सीमा बसेर मात्रै दिन कटाइरहेका छन् । कामको नाममा नराम्रो त नगर्ने–नगर्ने राम्रो पनि नगर्ने सोचमा बसेका छन् । नेपाली जनतालाई नराम्रो काम गर्ने प्रधानमन्त्री चाहिएको छैनको अर्थ कामै नगरी कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिन्छ भन्ने पनि होइन । सुशील कोइरालाले यो कुरा बुझ्न जरुरी छ । डेढ दर्जन मुलुकमा नेपाली राजदूत छैनन् । भारतलगायतका मुलुकमा तुरुन्त राजदूत नियुक्त गर्नुपर्छ । नेपालमा यतिबेला संवैधानिक निकायहरू खाली भएका छन् । त्यहाँ जनशक्ति भर्ना गर्न जरुरी छ । अगाडि कोही नभएका पछाडि पनि कोही नभएका, मर्दाका बखत छाती पिटेर कोही पनि रुने मान्छे नभएका व्यक्तिलाई काम गर्न धेरै सजिलो हुन्छ । यो वास्तविकता सुशील कोइरालाले बुझेका रहेनछन् । उनले यो यथार्थ बुझ्न अब ढिलो गर्न हुँदैन । मुलुकलाई जहाँको त्यही राखिराख्ने काम गर्नुहुँदैन । नेपालको पूरै राजनीतिक इतिहासमा बहुमत प्राप्त नगरी पनि प्रधानमन्त्रीको कुर्सीमा उक्लिने भाग्य प्राप्त गरेका केही भाग्यमानीमध्ये एक सुशीलले यतिबेलाको चिन्तन र कार्यशैलीलाई तुरुन्तै बदल्नुपर्छ । एकबारको जुनीमा प्रधानमन्त्रीजस्तो गरिमामय पदमा पुग्न सफल उनले त्यो पदको पनि इज्जत गर्न सक्नुपर्छ । यसका लागि उनले सक्रियता प्रदर्शन गर्नुपर्छ । बैठक डाक्दै भटाभट समस्या समाधानका लागि निर्णय गरिहाल्नुपर्छ । होइन, यही तरिकाले चुपचाप बसिरहने हो भने समय घर्किन्छ । दक्षिण छिमेकीको बलले अर्को कुनै नेपाली नागरिकता लिएका कुनै दलका कुनै नेता प्रधानमन्त्रीको कुर्सीमा उक्लिन्छ । त्यतिबेला ‘हिस्स बूढी हरिया दाँत’को अवस्था आउँछ । अब जे गर्छन् सुीशलदाले नै गर्छन् । जय नेपाल !