मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने

मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने


खानेपानी संस्थानले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने भएको छ ।

जाइकाको रु चार अर्ब ८० करोडको लागतमा उक्त आयोजना निर्माण हुने छ । खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा आज बसेको समीक्षा बैठकमा संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्न सो आयोजनाको निर्माण शुरु गर्ने जानकारी दिएको छ ।

आयोजना निर्माण भएपछि पोखरा र आसपासका क्षेत्रका बासिन्दाले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलोपटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ । आगामी बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा ‘वाटर एटिएम’को नमूना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा संजीवविक्रम राणाले जानकारी दिए ।

उक्त एटिएमबाट निश्चित रकम भुक्तानी गरेपछि स्वच्छ पानी पिउन पाइने छ । यस्तो एटिएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौँ उपत्यकाभित्र विस्तार गर्दै लैजाने योजना रहेको बोर्डका कार्यकारी निर्देशक राणाले बताए ।

बोर्डबाट गठन भएको कार्यदलले गरेको अनुगमनबाट हालसम्म १८ ट्याङ्करलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्याङ्करलाई ३६ हजार जरिवाना गरिएको बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा मन्त्रालयले दुई साताअघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्याङ्कर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभर ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।