उमा कुङ्फुमा कमल र मुन्नीलाई स्वर्ण

उमा कुङ्फुमा कमल र मुन्नीलाई स्वर्ण


बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङ्फु च्याम्पियनसिप– २०१८ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण पदक जितेका छन् । तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । कमलले मोङकी बक्सिङमा थप एक रजत पनि हात पारे । किकबक्सिङमा भने कमल पदकविहीन बनेका थिए ।

त्यस्तै मुन्नीले ताइची स्पर्धामा नेपाललाई स्वर्ण दिलाइन् । मुन्नीले गत अगस्ट–सेप्टेम्बरमा जर्मनीमा भएको १२औँ विश्व मार्सल आर्ट च्याम्पियनसिपमा पनि कांस्य जितेकी थिइन् । प्रतियोगिता अक्टोबर ५ तारिखदेखि शुरु भएको थियो । प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी गराएका छन् ।