हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा आज (१६ असार) बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारीसाधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् ।
दार्चुला-गोकुलेश्वर सडकखण्ड अवरुद्ध
दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड पनि अवरुद्ध भएको छ ।
गएराति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन रोकिएका छन् ।
प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया