बाग्लुङको गल्कोटमा राष्ट्रिय महिला भलिबल

बाग्लुङको गल्कोटमा राष्ट्रिय महिला भलिबल


नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता असोज २३ गते मंगलबारदेखि बाग्लुङको गल्कोट शुरु भएको छ । गल्कोट नगरपालिकाको मुख्य सहयोगमा असोज २७ सम्ममा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि गल्कोट नगरपालिकाले ५ लाख सहयोग गरेको बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्ष यमबहादुर श्रीषले जानकारी गराएका छन् । प्रतियोगिताका लागि गल्कोट स्पोर्टस् क्लब जापान र गल्कोट समाज जापनले २ लाख ५० हजार सहयोग गरेका छन् ।

त्यस्तै बाग्लुङ समाज दक्षिण कोरियाले पनि १ लाख सहयोग गरेको छ । संघीय ढाँचामा आयोजन हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्ष श्रीषले जनाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता लिगकम नकाउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले गर्नेछन् ।