हामीमा वैचारिक विचलन र दृष्टिकोणमा स्खलन भएकै देखियो– हरिबोल गजुरेल, नेता एमाओवादी
० तपाईंको पार्टीको राष्ट्रिय सम्मेलन हात्ती आयो हात्ती आयो फुस्सा भनेझैँ हुने भयो भन्छन् नि, हो ?
– त्यस्तो निरर्थक देख्ने को हो, किन यस्तो देखेका हुन्, यो त मलाई जानकारी भएन । तर, हाम्रो पार्टीको विशेष महाधिवेशन प्रक्रियाको सुरुवात हो यो सम्मेलन त । बाहिरबाट तीव्र बहस र विवाद चलेजस्तो देखेर यस्तो ठानिएको होला । बहस त हामीले उठाएकै हौँ । त्यसअनुसार समसामयिक वैचारिक, राजनीतिक, सङ्गठनात्मक, इतिहास आदि विषयमा महाधिवेशनमा गएपछि मात्र ठोस निचोडमा हामी पुग्छौँ । यस मानेमा यो सम्मेलन फुस्सा या निरर्थक होइन धेरै नै उपलब्धिमूलक बनेको छ ।
० विराटनगर सम्मेलनपछि एमाओवादीलाई कसरी अघि बढाउने भन्ने नयाँ सोच बनाइएको त देखिएन नि ?
– अध्यक्ष कमरेड प्रचण्डले पेस गर्नुभएको प्रस्ताव पार्टीलाई नयाँ ढाँचामा सङ्गठित गर्ने र माओवादी पार्टीको गिरेको साख, पद्धति, प्रक्रिया, दृष्टिकोणमा आएको ह्रास आदिलाई सच्याएर नयाँ ढङ्गले क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ भन्ने कुरामै केन्द्रित छ । जनताले हिजोको क्रान्तिकारी माओवादी पार्टी चाहेका छन् आजको होइन भन्ने तथ्यलाई अध्यक्षको प्रस्तावले पूरापूर आत्मसात् गरेको छ । यसपटकको राष्ट्रिय सम्मेलनको महत्वपूर्ण उपलब्धि हो यो ।
० तपाईंहरू त संसदीय व्यवस्था अर्थात् तपाईंहरूकै भाषामा भन्नुपर्दा संसदीय भासमा फसिसक्नुभएको छ, कसरी हिजोको माओवादी पार्टी बनाउनुहोला त ?
– हामी संसदीय व्यवस्थामा त आएका छौँ, तर पुरानो खालको संसदीय व्यवस्था होइन यो । १० वर्षे जनयुद्ध र ०६२÷६३ को आन्दोलनले स्थापित गरेको फरक व्यवस्थापिका यो हुनाले सङ्क्रमणकालीन परिवेशमा यस ठाउँमा उभिनु हाम्रो गल्ती होइन भन्ने लाग्छ । यसमा हाम्रो भूमिकालाई सशक्त र अझ प्रभावकारी कसरी बनाउने भन्ने सन्दर्भमा चाहिँ विचार गर्नैपर्ने हुन्छ ।
० तपाईंहरू आउँदा संसदीय व्यवस्था पनि बेग्लै र उपयुक्त हुने र अरू हुँदाचाहिँ त्यो बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हुने भन्ने हुन्छ र ?
– हामी आएकाले यो ठीक भनेको होइन । यसको स्वरूप नै अलिक फरक छ । परम्परागत खालको नभई यो विशिष्ट परिस्थितिअनुसारको छ भन्न खोजेको मैले ।
० त्यसो भए अब यो संसदीय व्यवस्थाको विकल्प खोज्दैन त एमाओवादीले ?
– हामी त जनवादी क्रान्तिका पक्षधर हौँ नि । जनवादी क्रान्तिको बाँकी कार्य र समाजवादी क्रान्तिको तयारीका कार्य अभिन्न रूपले जोडिएका छन् । यसका लागि सशक्त क्रान्तिकारी पार्टीको जरुरत छ । त्यसैले एमाओवादीको पुनर्गठन जरुरी देखेका हौँ हामीले । किनकि, हाम्रो पार्टीमा वैचारिक विचलन देखिएको छ, दृष्टिकोणमा स्खलन आएको छ । यसको परिपूर्ति गरी फेरि क्रान्तिकारी धार निर्माण अपरिहार्य बनेको छ ।
० तपाईंले पार्टी पुनर्गठनको कुरा गर्नुभयो, तर प्रचण्डजीले त विघटनको कुरा गर्नुभएको छ नि ?
– पार्टीका अध्यक्ष प्रचण्डले विघटनको कुरा गर्ने त सवालै रहेन । उहाँले भन्न खोजेको त पुनर्गठन गरिएन या नयाँ ढङ्गले अघि बढिएन भने विघटनमै पुग्ने खतरा रहन्छ भन्ने पो हो त । अब विघटनतिर जाने कि अगाडि बढ्ने भन्ने दोसाँधमा खडा भएको स्थिति चित्रण गर्न खोज्नुभएको हो उहाँले । अझ अवसर छ, अवसरको सदुपयोग गर्नुपर्छ भन्ने प्रचण्डको धारणा हो, बङ्ग्याएर बुझ्न नखोजौँ ।
० एमाओवादी त गुटैगुटको समूह बनेको रहेछ नि, अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनले त यही बोल्यो होइन त ?
– गुटको अन्त्य गर्ने योजनाहरू अघि सार्ने कुरा बोलेको हो अध्यक्षको प्रतिवेदनले ।
० पार्टीमा बाबुरामजीको एउटा गुट छ, नारायणकाजीको अर्को गुट छ, व्यक्तिगत स्वार्थमा लुटपुटिएकाहरूको बेग्लै जमात छ, यसको अन्त्य सहजै होला त ?
– समस्याहरू नरहेका होइनन्– छन्, हामीले महसुस गरेकै कुरा हो । तर, समस्या समाधानका लागि पार्टी कडाइका साथ प्रस्तुत हुनेछ । पार्टी सदस्यहरूको जीवनशैली, व्यवहार, आचार, अनुशासन आदि विषयमा गम्भीर ढङ्गले सोचेर ठोस निर्णय लिनैपर्छ पार्टीले । अब पार्टी विधि–पद्धतिबाट अघि बढ्छ, हिजो मौलाएकोजस्तो अराजकता अब रहँदैन । राष्ट्रिय सम्मेलनपछि पार्टीको मति र गति फरक हुनेछ ।
० एमाओवादीका कैयन युवा नेताहरूले अब नेतृत्वको लागि चुनाव हुनुपर्छ भनेका छन्, तपाईंचाहिँ के भन्नुहुन्छ ?
– सहमति हुन नसक्दा त निर्वाचन हुनैपर्छ नि । यसमा कसैले आत्तिने र कोही मात्तिने अवस्था किन रहन्छ र ?
० तर शीर्ष नेताको पङ्क्ति त निर्वाचन हुँदा आफू पराजित हुने भयले आक्रान्त देखिन्छन् नि, होइन र ?
– यो सब बेकारका कुरा हुन् । भ्रम हो यो, विश्लेषण या बुझाइको दरिद्रता हो ।
० विराटनगर सम्मेलनपछि पनि नेताकेन्द्रित गुटहरू कायम रहे के होला ?
– एमाओवादीमा अब गुट रहँदैन, रहनुहुँदैन । रह्यो भने पार्टी बन्दैन, क्रान्ति पनि हुँदैन भन्ने निचोड एकप्रकारले निस्किसकेको छ पार्टीमा । गुट बनाउन खोज्नेविरुद्ध पार्टी अब अहिल कडाइका साथ व्यवहार गर्न बाध्य हुनेछ ।
० बाबुराम, नारायणकाजीजस्ता पार्टीका वरिष्ठ नेताहरूले पार्टीको कुनै पदमा नबस्ने भनी गरेका उद्घोषलाई कसरी बुझ्ने नि ?
– यो कुनै अनौठो विषय होइन । उहाँहरूले पार्टी सुदृढ रूपमा अघि बढाउन अध्यक्षलाई बल पुगोस् भनेरै यस्तो निर्णय लिनुभएको हुनुपर्छ । उहाँहरूको सन्दर्भमा यो नौलो विषय पनि होइन नि । आवश्यकताअनुसार पार्टीले दिएको जिम्मेवारी यथोचित मौकामा उहाँहरूले सम्हाल्नुहुनेछ भन्ने नै लाग्छ ।
० एमाओवादी पार्टी गरिब बन्दै गयो तर नेता र चल्तापुर्जा कार्यकर्ताचाहिँ धनी भए भन्ने आवाज पनि उठाए नि सम्मेलनमा पार्टीप्रतिनिधिहरूले, के भन्नुहुन्छ ?
– आमरूपमा त्यस्तो होइन, बढ्ता हल्ला चलाइएको मात्र हो । अलिअलि जीवनशैली र व्यवहारमा परिवर्तन आएको होला, अलिक बुर्जुवाकरण पलाएको, सामन्ती शैली हुर्किएको कतिपयमा देखिँदै छ । तर, नेताहरूले धन सोहोर्न थालेको भन्ने कुराचाहिँ हाम्रो पार्टीलाई बद्नाम गराउने चाल मात्रै हो । केही व्यक्तिमा त्यस्तो प्रवृत्ति पनि देखियो होला, तर यसैका आधारमा सिङ्गो एमाओवादी पार्टीलाई प्रदूषित भएको आरोप लगाउन मिल्दैन ।
० वैद्यजीहरूसँग सहकार्य र एकता होला ?
– सहकार्य हुँदै एकतामा पुग्न पनि सकिन्छ । अहिले नै एकीकरण भइहाल्छ भन्न नसकिए पनि प्रक्रिया अगाडि बढ्दैबढ्दैन भन्नेचाहिँ होइन ।
० अन्तमा, प्रचण्डले त पश्चिमा राष्ट्रप्रति दह्रै प्रहार गर्न थाल्नुभयो नि, किन होला ?
– पछिल्ला घटनाक्रमहरू मुलुकको राजनीतिमा जो देखापरे, यो अलिक आशङ्का गर्नुपर्ने प्रकारकै देखिए । सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको सन्दर्भमा बहस र छलफल हुँदै गर्दा कतिपय पश्चिमा शक्तिराष्ट्रहरूका चलखेलले असहज स्थिति सिर्जना गरिदियो । उनीहरूको हस्तक्षेप यसै पनि बढिरहेकै अनुभूति हामीले गर्दै आएका हौँ । यही यथार्थलाई इङ्गित गर्नुभएको होला अध्यक्षले ।
प्रतिक्रिया