जय दशैँ, निर्भय दशैँ !

जय दशैँ, निर्भय दशैँ !


– बद्रीप्रसाद दाहाल

यसपालि २०७५ असोज २३ गतेदेखि बडादशैंको महान् पर्व थालनी भएको छ । टाढा—टाढा बसेका आ–आफ्ना नानीबाबु मान्यजनका हातबाट टीकाटाला गर्न हर्षविभोर हुँदै घरआँगन टेक्दै छन् । आशीर्वादका भारी हालेर लबस्तरा र नकच्चरा थुप्रै म्यादी सरकारलाई धारेहातले बाइबाई गरी ताता मरुभूमि, चिसा परभूमिलाई कर्मभूमि बनाउन बाध्य छन् लाखौँ नेपाली नवयुवा । यता सत्ताधीस्थहरू सधैँ विदेशी रक्सीमा नुहाएर परिकार–परिकारका सितिपत्र हसुर्न दल, संसद् र सरकारलाई नाट्यशाला बनाई दशैंलाई देखावटी, बोझिलो, खर्चिलो, ढासा एवम् ढर्राको रमितामा महँगाइ बढाएर छाडा बजार दिन तयारीसाथ जुटेका छन् । पर्वहरूको हुर्मत लिँदै आला नवसामन्तहरूले पुराना रजौटालाई जितेको गर्वमा अनाथहरूका पसिना बलि दिएर लोली मिलाइरहेका छन् ।

दशैंलाई भयकारी दशा र महादशाको रूपमा धारेहात लगाई हल्ला मच्चाउनेहरूले भन्ने गरेको कहावत हो ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई ।’ आफ्ना सम्पूर्ण महत्वाकाङ्क्षा, अदूरदर्शिता, मूर्खता एवं ढासा ढर्रालाई मनग्गे नाच्ने स्थान दिएर दशैंजस्तो सन्देशपर्व महादशाको भुमरी र कुनशाको फोहोरी आहाल बनाउने हाम्रो व्यवहार प्रतिगामी र पश्चगामी सोचबाट ग्रस्त छैन ? दशैँ कैयौँ गरिबलाई साक्षात् बसाइँ वा मुग्लान भास्न बाध्य पार्ने सङ्कट पर्व हो भनेर यसमाथि धावा बोलिने गलत परम्परा हाबी पार्ने षड्यन्त्र पनि भइरहेको छ कोण–कोणबाट । सनातनीहरूको महापर्वको बिदा काटेर हाम्रो समाजका नयाँ अभिजनहरूले प्रचलित पर्वहरूलाई उल्फाको धन फुपूको श्राद्ध गराएर स्वस्थ संस्कृति र प्रेरक पर्वमाथि प्रहार गरेको गऱ्यै पो छन् त ! शास्त्रोक्त वचनलाई आफ्नै डेढ अक्कली कथनमार्फत मथन गरेर महाऋणको अर्को शुम्भ निशुम्भको रूपमा दशैँलाई उभ्याउन खोज्ने कसरत सभ्यता तथा हाम्रा भव्यतामा दिइन खोजेको ‘स्लो प्वाइजन’को अफवाह हो । यसरी महापर्वहरूलाई गर्वको टाकुराबाट खसालेर सर्प बनाउने कुसोच गर्नु आफ्नो मौलिकतामाथि एसिड वर्षा गराउनु पो हुन्छ कि ? ‘धर्मो रक्षति रक्षितः’ भन्ने ध्रुवपदलाई अलपत्र पार्नु पो बन्छ कि ?

‘नाच्न जान्दैन आँगन टेडो, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ पो हो कि पर्व र संस्कारप्रतिको नकारात्मक सोच ? सात्विक भावको प्रवाह गर्ने दशैँलाई हिंसाको अफवाह बनाएर आफ्ना तामसी लिप्सा पूरा गर्न कस्सिएका इन्द्रियशासित बुर्जुवा मनुवाहरूले शारदी नवरात्रिलाई कामदी र रक्तरञ्जित अन्ध रात्रिमा रूपान्तर गरेको गऱ्यै छन् गॉँठे ! अन्धविश्वास, कुरीति, कुप्रथाका व्यथा मन र मस्तिष्कभरि टम्म जमाएर ‘नारिकेल बलि’ भनेको ठाउँमा जुन पायो त्यही पशुपक्षी प्राणी मौलोमा छ्याक्क बनाएर गम्गम् हसुर्ने सिटामले देख्दा बुद्धसमेत क्रूद्ध हुने स्थिति देखिएको छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य र इन्द्रियजन्य अहङ्कारका शुम्भ, निशुम्भ, रक्तवीज, धुम्रलोचन तथा महिसासुरप्रभृतिका राक्षसीवृत्ति र रावण एवम् कुम्भकर्ण भाव बलि दिने ठाउँमा अनाथ जन्तु एवं प्राणीहरूको सम्हार गरेर आ–आफ्ना तामसी वुभुक्षा पूर्ति गर्न फूर्ति निकाल्ने कसाहीपनले पो मज्जासित खुट्टा घुमाइरहेको छ ।

गत साल बडादशैँमा मात्र दुई लाखभन्दा बढी चौपाया र असङ्ख्य पक्षीहरू बलिवेदीका सिकार भए । यही सिकारलाई मिसावटी तेल र मसलामा छड्काएर विकार पारेकैले झाडाबान्ता र गानुगोलाले खोला भरिए ।

यसरी चाडलाई तामसी वुभुक्षाको कार्ड बनाउने गाड बानीले विवेक टाट उल्टिँदै छ । धर्मनिरपेक्षको जामा पहि¥याएर धर्मकै नाममा अनाथ प्राणीका माथ छिनालेर उल्टो पुरुषार्थ पछार्नेप्रति के भनेर सम्बोधन गर्ने ? हाम्रो शास्त्र यसरी गर्जिएर बोल्छ– ‘छागं यो हन्ति तं हन्ति, छागो भूत्वा च खड्गवत् । सुरथं परलोके हि पशुजघ्नोऽरिरित्युतः।।’ अर्थात् जसले बोकालगायतका प्राणीलाई यो लोकमा काटमार गर्छ त्यसलाई तिनै जन्तुहरूले परलोक वा दोस्रो जन्ममा खड्ग धारण गरेर मार्छ, जसरी बलि दिएको पशुले देवीभक्त सुरथ राजालाई परलोकमा मारिदिएको थियो । यसैगरी धर्मका नाममा अर्का थरी ‘जनावरको आत्मा हुँदैन’ भनेर निर्दोष जीवजन्तुको हलाल गर्ने वा छाला काढेर मार्नेजस्तो जघन्य अपराध गर्दा पनि पुण्य सञ्चय हुन्छ भनेर डरलाग्दो पापमा सरिक भइरहेका छन् ।

यसरी धर्मका नाममा मध्ययुगीन बर्बरता कायम राखेर ‘बाँच र बाँच्न देऊ, अहिंसा परमो धर्मः, द्यौः शान्ति आपः शान्ति….का सनातन राजमार्गमा मलमूत्र उत्सर्जन गर्ने गल्लीपन्थी सोच आज पनि कोचाकोच भएको देख्दा अपशोच लाग्छ ! सयौँ किलोका राँगा, पचासौँ किलाका खसीबोका र नगण्य ओजनका पक्षी भोजन गर्ने सर्वभक्षीको संख्या दिन दुगुना रात चौगुना बढेकैले नेपालजस्तो गरिब देशमा वर्षेनी खर्बौं रुपैयाँ विदेश पुगेको तथ्य तथ्याङ्कले बोलिरहेका छन् । गत साल बडादशैँमा मात्र दुई लाखभन्दा बढी चौपाया र असङ्ख्य पक्षीहरू बलिवेदीका सिकार भए । यही सिकारलाई मिसावटी तेल र मसलामा छड्काएर विकार पारेकैले झाडाबान्ता र गानुगोलाले खोला भरिए । कमलपित्त, अमलपित्त, क्यान्सर र मुटुरोगीको सङ्ख्या थप्ने काममा मासुले रौरव खडा गरिसक्दा पनि हामी कौरव गौरव मान्दै काटमारमा शानदार प्रगति गरिरहेका छौँ । आज–भोलि त सांस्कृतिक क्रान्तिका धरोहर सम्झने धरहराहरू पनि सत्ता र भत्तामा मैमत्ता भएर सनातन राजमार्गमा फोहोरका डङ्गुर थुपारेर हिँडिरहेका छन् । वैज्ञानिक समाजवादमा हुरीबतास चलाएर लेते लगाउन पश्चगामी सामन्ती धारामा तारा देख्न थालेका छन् हिजोको प्रगतिशील जनवादका अभियन्ताहरू । छोक्रा, बोक्रा र कोक्रा साबित भएका खानाकाल धोक्राहरूको ‘धर्म एक अफिम हो’ भन्ने सूत्र नै मलमूत्र बन्न पुग्यो भनेर कड्किने वाम बुद्धिजीवीको लाम त छोटो पो छ त ?

आज राज्यशक्तिको उन्माद र राष्ट्रिय ढुकुटीको ब्रह्मलुटमा काला बोका बलि दिने हिजोका प्रजातान्त्रिक ताता र राता मान्छे अर्बौंपति बनेर अर्वाचीन युगलाई समीचीन ठम्याउने राजसी रोग सङ्क्रामक भएर फैलिएको छ । पद्धतिमा लोकतान्त्रिक गणतन्त्रको खोल हालेर पालिका, प्रदेश र केन्द्र तहका कार्यकारिणीसम्म भागबन्डाको डण्डा चलाउनेहरू सधैँ तामसी दशैँमा ‘झुम बराबर झुम शराबी’ भइरहेका छन् । यी आँठ्या कालहरूको बज्ने ढालले सुर सङ्गीत नै दिन छोडिसक्यो । दशैँजस्तो श्लील पर्वलाई अश्लील बनाउने, रूपं देहि जयं देहि, यशो देहि द्विषो जहि’ जस्ता वन्दना र प्रार्थनामा भाटतन्त्र देख्ने टाट दिमाग अनि ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ लाई आचरणमा उतार्न कन्जुस्याइँ गर्ने राष्ट्रघाती विद्वत्ता जनमंगलकारी व्यवस्थाको प्रतीक दशैँलाई समाप्त पार्ने भाला चलाइरहेको छैन ?

आज त सबैले भन्दै छन्– ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ पोल खुलाई’ ! यहाँका सबै शासक–महाशासक, शीर्षस्थ वरिष्ठ र कनिष्ठ प्रशासक, छद्म निर्माण व्यवसायी, मौकाछोपुवा अशुद्धजीवी बुद्धिजीवी, सत्ताको छत्रछायामा बसेका डन, उपडन काला व्यापारी कसरी दशैँलाई बदनाम गराउँदै छन् पोल खुल्दै छ, खोल उघ्रँदै छ ।

व्यास बूढाले जमानामै श्रीमद्भागवत्मा कड्केर बोले, ‘यावत् भ्रियेत जठरं तावत् स्वत्वं हि देहिनाम् । अधिकं योभिमन्येत सः स्तेनो दण्डमर्हति’ अर्थात् जतिले पेट भरिन्छ त्यति नै व्यक्तिले पाउँछ, बढी सम्पत्तिको इच्छा गर्ने कमाउमार्गीहरू वास्तवमा चोर वा तस्कर हुन् । यो सूत्रमा माक्र्स, लेनिन, बीपी र माओका महाहजुरबाहरू लुकेका छैनन् ? यसैले दशैँ मनाउने प्रगतिशील पङ्तिलाई हाम्रै शास्त्रीय आसयमा मान्न आह्वान गरौँ । जहाँ सबैलाई समानतापूर्वक ‘आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुसे गतिश्च पवने मानं च दुर्योधने । शौर्यं शान्तनवे बलंहलधरे सत्यञ्च कुन्तीसुते । विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। यहाँ शीर्ष र वरिष्ठहरूलाई बेग्लै आशीर्वादको व्यवस्था छैन । यतिखेरको लोकतान्त्रिक गणतन्त्रले जसरी सुकिला, मुकिला र सम्भ्रान्तहरूलाई ओखती उपचारदेखि तलबभत्तासम्ममा जुन विशेष व्यवस्था गरेको छ हाम्रो शास्त्रीयविधानले त्यो जङ्गली पक्षपातलाई पछार्ने आह्वान गरेको छ । किनकि आज त सबैले भन्दै छन्– ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ पोल खुलाई’ ! यहाँका सबै शासक–महाशासक, शीर्षस्थ वरिष्ठ र कनिष्ठ प्रशासक, छद्म निर्माण व्यवसायी, मौकाछोपुवा अशुद्धजीवी बुद्धिजीवी, सत्ताको छत्रछायामा बसेका डन, उपडन काला व्यापारी कसरी दशैँलाई बदनाम गराउँदै छन् पोल खुल्दै छ, खोल उघ्रँदै छ ।

त्यसैले त ‘आयो दशैँ ढोल बजाई, जाँदै छ दशैँ पोल खुलाई’ दशैँ दुर्दशा नभएर सुदशा हो । जहाँ राष्ट्रमा वितण्डा मच्चाउने महिषासुरहरूको खेदो खनिएको छ । सामान्य जनताको गाँस काट्ने चण्ड, मुण्ड र रक्तवीजहरूलाई दुर्गाले महाकालीको रूप धारण गरेर संसारलाई कल्याण तथा रक्षा गर्ने जिम्मा लिएकी छिन् । दम्भको उन्मादमा छँटाएका रावणत्व र कुम्भकर्णत्वले इति पाएका छन् । त्यसैले त छाती ठोकेर भन्न सकिन्छ– जय दशैँ ! निर्भय दशैँ !