चाउचाउ : खाना हो कि विष ?

चाउचाउ : खाना हो कि विष ?


  • सुरेन्द्र सुवेदी, काठमाडौं

वाइ वाइ चाउचाउमा एसिड भ्यालुको मात्रा अधिक पाइएको छ । यो मात्रा अधिक हुनु भनेको क्यान्सर र यस्तै घातक रोग लाग्नु हो । काठमाडौं महानगरपालिकाले गरेको परीक्षणमा वाइ वाइमा एसिड भ्यालु १३ दशमलव ९३४ मिलिग्राम र KOH/g Oil फेला परेको थियो । चाउचाउ खानयोग्य हुनका लागि यस्तो भ्यालु २ मिलिग्राम KOH/g Oil भन्दा बढी हुनु हुँदैन । योभन्दा बढी भयो र निरन्तर खाइरहेमा क्यान्सर र त्यस्तै घातक रोग लाग्ने भन्दै महानगरले उत्पादक कम्पनीलाई कारवाही पनि सुरु गरिसकेको छ ।

चौधरी ग्रुपले नेपालमा ९ वटा प्लाण्ट राखेर वाइ वाइ उत्पादन गर्दै आएको छ । बर्दिया १, सुनसरीमा २, नवलपरासीमा ५, भैंसेपाटीमा १ समेत जम्मा ९ प्लाण्ट छन् । यी प्लाण्टबाट दैनिक ८० हजार कार्टुन वाइ वाइ उत्पादन हुन्छ । जसमा ३० वटाका दरले २४ लाख प्याकेट उत्पादन हुने देखिन्छ ।

स्रोतहरुका अनुसार वाइ वाइ उत्पादनमा प्रतिप्याकेट १० रुपैयाँसम्म खर्च हुन्छ । यो चाउचाउ प्रति प्याकेट १७ रुपैयाँमा होलसेल बजारमा बिक्री गरिन्छ । २४ लाख प्याकेट चाउचाउबाट प्रति प्याकेट ७ रुपैयाँ मुनाफा जोड्दा एक वर्षमा ६ अर्ब बढी आम्दानी हुने गर्दछ ।

उत्पादक कम्पनीले विश्वका ४० देशमा वाइ वाइको बजार विस्तार गरिसकेको छ । ती देशमा पनि यस्तै क्यान्सरको विष नै उत्पादन गर्दै बिक्री भइरहेको या ती उत्पादनमा गुणस्तरलाई ध्यान दिइन्छ सो बुझिएको छैन ।

चौधरी ग्रुपसँग मात्र वाइ वाइमा प्रयोग गरिने मसलाको फर्मुला छ, जसका कारण यो धेरै रुचाइन्छ, स्वादिलो बनाउन नै वाइ वाइमा विषजन्य पदार्थको प्रयोग भएको बताइन्छ ।