दशैँको मुखमा सप्तरी सदरमुकाममा युवाको हत्या

दशैँको मुखमा सप्तरी सदरमुकाममा युवाको हत्या


राजविराज । दशैँ शुरु हुनुभन्दा एक दिनअगाडि गत मंगलबार सप्तरी सदरमुकाम राजविराजमा एकाबिहानै एक युवाको हत्या भएको छ । स्थानीय युवाको एक समूहको धारिलो हतियार प्रहारले राजविराज–१ डुमरी शिवथानका २१ वर्षीय प्रेम यादवको मृत्यु भएको हो ।

१०–१५ जनाभन्दा बढी युवाहरुको समूहले गत मंगलवार गरेको प्रहारबाट गम्भीर घाइते भएका यादवको विहिबार विहान बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार विहान राजविराज २ स्थित पिस जोन बोर्डिङ स्कुल अगाडि बाटोमा यादवलाई घेरा हाली राजविराज ११ फर्सेठका युवाहरुको समूहले आक्रमण गरेको थियो । घाइते यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका परिवारजनले बताए । यादवको शवको पोष्टमार्टम विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भएको छ ।

हत्यामा संलग्न सबै फरार छन् भने उनीहरुको पहिचान खुलिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए । डिएसपी रिमालले पुरानो रिसइवीका कारण हत्या गरिएको खुल्न आएको बताए । यादवको मृत्युपछि प्रहरीले आरोपितहरुको खोजी कार्य तिब्र पारेको छ । यस क्रममा अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरिएको एसपी राजेन्द्र विष्टले बताए ।

मृतकका पिता भन्नालाल यादव राजदेवी ठाकोदेबी जोगेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य एवं तत्कालिन नेकपा माओवादी केन्द्रका राजविराज नगर कमिटिका संयोजक हुन् ।

दशैँ नजिकिएका बेला यादवको हत्याले उनको परिवारका साथै पूरै टोल शोकाकुल बनेको छ । पोष्टमार्टमपश्चात स्थानीयवासीले राजविराजमा शवसहित नगर परिक्रमा गर्दै हत्याराहरुलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् ।

शवसहित विहिबार दिउँसो निस्केको जुलुसले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगी केहीबेर नाराबाजी गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हत्यारालाई पक्राउ गरी कारवाही गर्ने प्रतिबद्धता जनाएपछि मात्र जुलुस जिल्ला प्रशासन कार्यालयबाट फर्केका थिए ।

यसैबीच २ नम्बर प्रदेश सदस्य मनिषकुमार सुमन, पूर्व सिँचाईमन्त्री उमेशकुमार यादव तथा बाइसिएल नेपाल सप्तरीका अध्यक्ष बिनोदकुमार यादव र युवा संघ नेपाल सप्तरीका उपाध्यक्ष छोटेलाल यादवले विहिबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर निन्दा गर्दै हत्यामा संलग्न अपराधीलाई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।