रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

उनीहरुलाई आज (८ कात्तिक) अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक वसन्तकुमार शर्माले जानकारी दिए । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । थप अनुसन्धानका लागि पक्राउ परेको मितिदेखि लागू हुने गरी आइतबार ६ दिनको म्याद थपिएको थियो ।

लामिछानेलाई पहिलो पटकको म्याद सकिएपछि आज पुनःअदालत उपस्थित गराइएको हो । पूर्वप्रहरी नायब महानिरीक्षक जोशी सोही सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । पोखरामा लामिछानेका समर्थकका साथै सहकारीपीडितका छुट्टाछुट्टै प्रदर्शनका कार्यक्रम जारी रहेकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरीले जनाएको छ ।