एनआरएनएको पहिलो विधान सभा शुरु

एनआरएनएको पहिलो विधान सभा शुरु


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को विधान सभा काठमाडौंमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलोपटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भूषण घिमिरेले बताए ।

यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधान सभा भने यो पहिलो हो । सल्लाहकार डा. हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले सभामा संशोधन प्रस्ताव पेस गरेको घिमिरेले जानकारी दिए । आज दिनभर सो प्रस्तावमाथि छलफल हुनेछ ।

हाल तीन उपाध्यक्ष रहेकामा थपेर विषयगत रूपमा पाँच उपाध्यक्ष पु¥याउने गरी संशोधन प्रस्ताव पेस गरिएको छ । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न लागिएको हो । एनआरएनएको दुईवर्षे कार्यकाललाई तीनवर्षे बनाउने प्रस्तावमा उल्लेख छ ।

प्रतिएक हजार सदस्यबराबर १०० जना सम्मेलन प्रतिनिधि रहने गरेकामा यसपटक त्यसलाई समेत संशोधन गरिने प्रवक्ता घिमिरेले बताए । आज पारित संशोधन प्रस्ताव तीन महिनापछि बोलाइने विशेष महाधिवेशनमार्फत अनुमोदन गरिने जनाइएको छ ।

आजदेखि विश्व विज्ञ सम्मेलन

विधान सभापछि पहिलो ‘विश्व विज्ञ सम्मेलन’ आज साँझदेखि शुरु हुँदै छ । साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । विज्ञ सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक सीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीपको उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तरक्रिया हुनेछ । सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवी, निजी क्षेत्रको समेत सहभागिता रहने जनाइएको छ । कुल १६० कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा ३५० प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले विदेशी भूमिमा सिकेको सीप र पुँजीलाई नेपालको विकासमा लगानी गर्न वातावरण तयार पार्ने विश्वास लिइएको छ ।