मोरङमा ट्राफिकसम्बन्धी यस्तो नियम

मोरङमा ट्राफिकसम्बन्धी यस्तो नियम


के तपाईं मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार गरे हुन्छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारीसाधन चलाउँदा चेकजाँचमा परी पक्राउ परे प्रहरीले सवारीचालक अनुमतिपत्र लिन्छ र चिट (पुर्जी) दिन्छ । त्यही चिटकोे नम्बरको आधारमा ट्राफिकसम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ ।

विभिन्न मूल र शाखा सडकलगायत अन्य स्थानमा गत मंगलबारसम्ममा आकस्मिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ८८ चालकलाई २४ घन्टे पुर्जी थमाउँदै लिखित परीक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो । मापसेमा पक्राउ परेकामध्ये ३० जना परीक्षामा सहभागी भई १५ जनाले ८० प्रतिशतभन्दा बढी अंक ल्याएर उत्तीर्ण गरेको प्रहरीले जनाएको छ । अनुत्तीर्ण चालकलाई पुनः परीक्षा लिई उत्तीर्ण भएमा मात्र सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा जानुपर्ने व्यवस्था गरिएको छ ।

मोरङ प्रहरीले हालै प्रयोगमा ल्याएको एप्समा घर वा जिल्ला प्रहरी कार्यालयमा गई चिटमा लेखिएको नम्बर एप्समा राखी परीक्षा दिनुपर्नेछ, जसमा उत्कृष्ट (८० प्रतिशत) अंक ल्याएमा मात्र उत्तीर्ण गराइन्छ ।

परीक्षा दिई उत्तीर्ण नहुञ्जेलसम्म सवारीचालक अनुमतिपत्र प्राप्त गर्न नसकिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं उपरीक्षक मनोजकुमार केसीले बताए ।

सवारीचालकको आफ्नो घर, कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा मोबाइल, ल्यापटप वा डेक्सटपबाट एप्स डाउनलोड, चिटको नम्बर दाखिला गरी ट्राफिक परीक्षा दिनुपर्छ ।

ट्राफिक परीक्षासम्बन्धी जाँचपरीक्षा सम्बन्धित व्यक्तिले दिएको हो वा अन्यले भन्ने परीक्षा दिएको बेला जिप्रकामा रहेको कम्प्युटर सफ्टवेयरले भिडियो रेकर्डिङबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा परी मृत्यु हुनेको संख्या वृद्धि थालेपछि चालकलाई सचेतनामूलक कारबाहीस्वरूप परीक्षा प्रणाली शुरु गरिएको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।