तपोवनमा प्रधानन्यायाधीश मिश्रको ठट्टा !

तपोवनमा प्रधानन्यायाधीश मिश्रको ठट्टा !


प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले शनिबार ओशो तपोवनको भ्रमण गरे । दशैँको माहोलमा न्यायालयको व्यस्त कार्यतालिकाबाट फुर्सद भएको मौका पारेर शान्तपूर्ण ध्यानस्थली तपोवन पुगेका प्रधानन्यायाधीश मिश्रले सपरिवार केही घण्टा त्यहीँ बिताएका थिए ।

प्रधानन्यायधीशलाई ओशो तपोवनको स्वागत कक्षमा स्वामी आनन्द अरुण र ओशो सन्यासीहरूले स्वागत गरेका थिए । सो क्रममा उनले ओशो तपोवनद्वारा नेपालमै छापिएका ओशोका एक सय पैंतीस पुस्तकहरू अर्थात् ‘ओशो साहित्य’को सेट अवलोकन गर्दै केही पुस्तक पनि खरिद गरे । ओशो तपोवन परिसरभित्र नागार्जुन वनको उत्तरपट्टि नवनिर्मित सुविधाजनक आधुनिक गेष्ट हाउसको अवलोकन गर्दै ध्यान सिक्न आउनेहरूको व्यवस्थाको बारेमा पनि प्रधानन्यायाधीश मिश्रले जिज्ञासा राखे । प्रकृतिको सान्निध्य तथा सुविधाजनक माहोलमा ध्यान सिक्ने वातावरण भएकाले विदेशबाट ध्यान सिक्न आउनेहरू तपोवनमा लामो समयसम्म रहने तथ्य स्वामी आनन्द अरुणले अवगत गराए ।

ओशो तपोवनको ध्यान कक्षमा नेपाल र विश्वका विभिन्न राष्ट्रबाट आएका १ सय ९५ शिविरार्थीहरूको उपस्थितिमा प्रधानन्यायाधीश मिश्रले ओशो तपोवनको विभिन्न सम्बुद्ध व्यक्तिहरुको चित्र समेटिएको क्यालेण्डर तथा तपोवनद्वारा प्रकासित ओशोको ‘रि–इन्कारनेशन, कर्म एण्ड डेस्टिनी’ पुस्तकको विमोचन गरे । सो विमोचन कार्यक्रममा उनले यस्तो रमणीय ठाउ“मा देश–विदेशबाट ध्यान र योग सिक्न आउने अन्तर्राष्ट्रिय समुहका बीच आफुलाई पाउँदा गौरव र सौभाग्यशाली ठान्दछु भन्दै कुनै पूर्वतयारी बोल्नु परेकोमा बहसमा जाँदा तयारी नगरी गएको पुरानो वकिलको जस्तै स्थिति भएको भन्दै ठट्टा गर्न पनि भ्याए । ओशो तपोवनमा सबै धर्मका मनिसहरु ध्यान सिक्न आएको देखेर सामाजिक सद्भाव र समन्वयको यस माहोलमा आफुलाई पनि शान्ति मिलेको प्रधानन्यायाधीश मिश्रले बताए ।