- विशेष प्रतिनिधि, सान्टियागो (चिली)
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले सन् २०२५-२०२७ कार्यकालका लागि विभिन्न रिक्त पदहरूमा मनोनयन सार्वजनिक गरेको छ। सार्वजनिक मनोनयन सूचीअनुसार अमेरिका क्षेत्रीय समन्वय समिति (Americas Region Coordination Committee) अन्तर्गत उप-क्षेत्रीय संयोजक (Deputy Regional Coordinator) पदमा चिलीका नेपाली समुदायका सक्रिय अभियन्ता सरोज अर्याल मनोनित भएका छन् ।
आईसीसी महासचिवको कार्यालयले सार्वजनिक गरेको सूचीमा अमेरिका क्षेत्रका लागि संयुक्त राज्य अमेरिका, क्यानडा र चिलीबाट सात जना उप-क्षेत्रीय संयोजक मनोनित भएका छन् । तीमध्ये चिलीबाट सरोज अर्यालको चयनले दक्षिण अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको प्रतिनिधित्वलाई अन्तर्राष्ट्रिय नेतृत्व तहसम्म पुर्याएको छ ।
दक्षिण अमेरिका नेपालीहरूको अत्यधिक बसोबास भएको क्षेत्र होइन । भौगोलिक दूरी, सीमित कूटनीतिक पहुँच र समुदायको सानो आकारका कारण यस क्षेत्रका नेपालीहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर कम हुने गरेको छ । यस्तो अवस्थामा चिलीबाट एक प्रतिनिधिको एनआरएनए अमेरिका क्षेत्रीय नेतृत्वमा मनोनयन हुनु त्यहाँका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सरोज अर्याल विगत लामो समयदेखि चिलीमा नेपाली समुदायलाई संगठित गर्ने, नेपाल-चिलीबीच सांस्कृतिक तथा सामाजिक सम्बन्ध विस्तार गर्ने, नेपालको पर्यटन, कला, हस्तकला र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अभियानमा सक्रिय रहँदै आएका छन् । प्रवासी नेपालीहरूबीच सहकार्य, आपसी सहयोग र संस्थागत एकताको पक्षमा उनले निरन्तर भूमिका निर्वाह गर्दै आएको समुदायका सदस्यहरूको भनाइ छ ।
एनआरएनए पछिल्ला केही वर्षदेखि आन्तरिक मतभेद, नेतृत्व विवाद र संगठनात्मक पुनर्संरचनाका चुनौतीबाट गुज्रिरहेको छ । यस्ता चुनौतीबीच संस्थालाई पुनः एकताबद्ध, प्रभावकारी र विश्वसनीय बनाउने अपेक्षा नयाँ नेतृत्वमाथि केन्द्रित छ । विश्लेषकहरूका अनुसार अब नेतृत्वको मूल्यांकन पद प्राप्तिमा होइन, संस्थागत सुधार, पारदर्शिता, प्रवासी नेपालीको हकहितको संरक्षण तथा नेपालसँगको सम्बन्धलाई कसरी सुदृढ बनाइन्छ भन्ने आधारमा हुनेछ ।
अमेरिका क्षेत्र एनआरएनएको सबैभन्दा सक्रिय र प्रभावशाली क्षेत्रमध्ये एक मानिन्छ । उत्तर अमेरिका, मध्य अमेरिका, क्यारिबियन र दक्षिण अमेरिकामा फैलिएका नेपाली समुदायबीच समन्वय कायम राख्नु, साझा कार्यक्रम सञ्चालन गर्नु, लगानी, ज्ञान, सीप र अनुभवलाई नेपालसँग जोड्नु तथा नयाँ पुस्तालाई संस्थासँग आबद्ध गराउनु यस क्षेत्रका प्रमुख जिम्मेवारीमध्ये पर्दछन् ।
यसै सन्दर्भमा दक्षिण अमेरिकाबाट नेतृत्व तहमा पुगेका सरोज अर्यालले क्षेत्रीय सन्तुलन मात्र होइन, लामो समयदेखि ओझेलमा पर्दै आएका दक्षिण अमेरिकी नेपालीहरूको आवाजलाई पनि संस्थागत रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन् ।
मनोनयनपछि प्रतिक्रिया दिँदै अर्यालले यो जिम्मेवारीलाई व्यक्तिगत सम्मानभन्दा पनि चिली तथा सम्पूर्ण दक्षिण अमेरिकामा रहेका नेपाली समुदायप्रतिको विश्वासको प्रतीकका रूपमा लिएको बताए । उनले संस्थाको एकता, पारदर्शिता, उत्तरदायित्व र प्रवासी नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘यो मनोनयन मेरो व्यक्तिगत उपलब्धि मात्र होइन । यो दक्षिण अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको सम्मान र विश्वास हो। मैले सधैँ संस्थाको एकता, समुदायको हित र मातृभूमि नेपालको गौरवलाई केन्द्रमा राखेर काम गरेको छु, आगामी दिनमा पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्नेछु ।’
विश्वका विभिन्न देशमा फैलिएका लाखौँ नेपालीहरूको साझा संस्था एनआरएनएले विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन, ज्ञान तथा सीप हस्तान्तरण, विपद्का समयमा सहयोग तथा मातृभूमिसँगको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ काम गर्दै आएको छ । नयाँ मनोनयनसँगै संस्थाले विश्वभरका नेपालीलाई अझ प्रभावकारी रूपमा जोड्ने अपेक्षा गरिएको छ।
चिलीबाट सरोज अर्यालको नेतृत्व तहमा भएको प्रवेशलाई केवल एउटा मनोनयनका रूपमा मात्र नभई दक्षिण अमेरिकामा रहेका नेपाली समुदायको बढ्दो सक्रियता, संस्थागत परिपक्वता र अन्तर्राष्ट्रिय पहिचानको नयाँ अध्यायका रूपमा पनि हेरिएको छ । अब समुदायको अपेक्षा स्पष्ट छ- यो प्रतिनिधित्वलाई परिणाममुखी काम, संस्थागत एकता र प्रवासी नेपालीको साझा हितमा रूपान्तरण गर्न सकियोस् ।
प्रतिक्रिया