पोखरामा टीकाको दिन प्रहरीको निःशुल्क बससेवा

पोखरामा टीकाको दिन प्रहरीको निःशुल्क बससेवा


दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बससेवा सञ्चालन गर्ने भएको छ ।

कात्तिक २ गते दशैँको टीकाको दिन सशस्त्रको हुलदंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनको एउटा बसले सर्वसाधारणलाई निःशुल्क सेवा दिने भएको तालिम शिक्षालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए । लामा पाटनबाट बिहान १० बजे छुट्ने बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्युरोड, चिप्लेढुंगा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्नेछ ।

बस्नेत भन्छन्, ‘दशैँ हामी पनि मान्छौँ, तर जनता हाम्रो पहिलो प्राथमिकता हो । सशस्त्र प्रहरी र जनताको सम्बन्धलाई सेवा सञ्चालनबाट अझ नजिक बनाउन मद्दत गर्दछ ।’

बससेवाबाट प्रहरीको गस्तीका साथसाथै सेवा पनि हुने भएकाले जनतालाई थप सहज हुने विश्वास गरिएको छ । त्यस्तै तालिम शिक्षालयले टीकाको दिन पोखरा बजारभित्र आकस्मिक अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । तालिम शिक्षालयको हटलाइन नं. ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने बताइएको छ ।