बलात्कार र हत्यामा संलग्न फरार अभियुक्त प्रहरी नियन्त्रणमा

बलात्कार र हत्यामा संलग्न फरार अभियुक्त प्रहरी नियन्त्रणमा


नाबालिकाको अपहरण, करणी एवम् हत्या गरी फरार रहेका अभियुक्त महोत्तरी भङगाहा नगरपालिका-६ बस्ने २६ वर्षीय भरत साहलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी औरही नगरपालिका-१ बस्ने ८ महिनाकी नाबालिकालाई गत भदौ १० गते सोही स्थानबाट अपहरण गरी जबर्जस्ती करणी तथा हत्या गरी फरार साहलाई सुनसरीको कोशी ब्यारेजबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले भारतीय नम्बरको तीन थान सिमकार्ड बरामद गरेको छ ।

संगठित अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानूनी कठोरता अपनाउने प्रहरी संगठनको नीतिअनुरुप अपराध रोकथाम तथा नियन्त्रणका लागि विशेष सुरक्षा योजना बनाई जाँच गर्ने क्रममा साहलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।

यस्तै, कर्तव्य गरी ज्यान मारेको घटनामा संलग्न रही फरार अभियुक्त काठमाडौं सामाखुशी वस्ने बाग्लुङ देवीस्थानका ३७ वर्षीय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन कठारका १८ वर्षीय जीवन लोहनीलाई २०६१ माघ ११ गते साँझ कर्तव्य गरी मारेको घटनामा संलग्न रही फरार रहेका हमाललाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो ।