निर्मलाका बलात्कारी पानीमुनि लुकेको भएपनि पत्ता लगाइन्छ : मन्त्री ज्ञवाली

निर्मलाका बलात्कारी पानीमुनि लुकेको भएपनि पत्ता लगाइन्छ : मन्त्री ज्ञवाली


परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले निर्मला पन्त हत्याकाण्डका अपराधी पानीमुनि लुकेकै भए पनि सरकारले नछाड्ने बताएका छन् । आफ्नो गृहजिल्ला गुल्मीमा आयोजित एक कार्यक्रममा मन्तव्य दिने क्रममा मन्त्री ज्ञवालीले यस्तो दाबी गरेका हुन् ।

निर्मला पन्त हत्या प्रकरणसँग जोडेर सरकारको व्यापक आलोचना गरिए पनि सरकारले यस मामलामा गम्भीरता प्रकट गरिरहेको उनको भनाई थियो ।

हिजो सोमबार बिहान जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यालय प्रमुख तथा कर्मचारीहरूसँगको बैठक तथा स्वागत कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले अपराधीलाई छाड्दैन र भ्रष्टहरूप्रति झन् निर्मम ढङ्गले लागेको बताए । सरकार विकास र जनताको समृद्धिको यात्रामा अगाडि बढेको भन्दै कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन पनि उनले दिए ।

सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको पनि उनले बताए । मन्त्री ज्ञवालीले भने– ‘अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।’