नौमतिको संरक्षणका लागि बाजा महोत्सव

नौमतिको संरक्षणका लागि बाजा महोत्सव


वामी विश्व सम्पर्क मञ्चको आयोजनामा गुल्मीको मुसिकोट नगरपालिका वामी टक्सारमा दोश्रो नौमति बाजा महोत्सव २०७५ आयोजना भएको छ।

महोत्सवको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नौमति बाजा महोत्सवले कला संस्कृति संरक्षणमा योगदान पुर्याउँदै रोजगारी सृजना गर्ने बताए । नौमतिको संरक्षणले पर्यटन विकासमा सहयोग पुग्ने र घरघरमा रोजगारी सिर्जना गर्दै गरिवी हटाउन सहयोग पुग्ने उनको तर्क छ ।

गुल्मी तथा बागलुङ जिल्लाका विभिन्न सात समुहको सहभागिता रहेको नौमति बाजा प्रतियोगितामा भिरखानी पञ्चेबाजा समुह चन्द्रकोट गाउँपालिका वडा नं. २ भिरखानीले प्रथम हुँदै ३३ हजार ३ सय ३३ पुरस्कार हात पारेको छ भने नौमति बाजा संरक्षण समिति मुसिकोट नगरपालिका वडा नं. ८ वामी मैदानले दोश्रो हुँदै २२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझाएको छ ।

त्यस्तै, घुम्टे नौमति बाजा समुह गल्कोट नगरपालिका वडा नं. ७ तृतिय हुँदै ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ भने उत्कृष्ट सनाई बजाउँदै दगा नवप्रतिभा बाजा समुह बडिगाड गाउँपालिका वडा नं. १ को समुहका सनाई वादक लोकबहादुर दर्जीले ५ हजा ५ सय ५५ रुपैयाँ पुरस्कार जित्दै स्टुडियोमा सनाई बजाउने अवसर समेत प्राप्त गर्नुहुने भएको छ ।

त्यस्तै, महिला नृत्यतर्फ सुष्मा सिंह ठकुरी प्रथम, रुपा राना मगर दोस्रो, विन्दु परियार तेस्रो र कुसुम दर्लामीले सान्त्वना पुरस्कार प्राप्त गरे । त्यस्तै, पुरुष नृत्यतर्फ मदन दर्लामी पहिलो, राजेन्द्रसिंह ठकुरी दोस्रो, रोम रायमाझी तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझी, जनगायक जीवन शर्मा, संगितकार विजु बज्र, गायक नवीन पौडेल, गायक लक्ष्मण खड्का, सन्तु थापा, शान्ता परियारलगायतका कलाकारहरुको सहभागिता रहेको छ ।

महोत्सवबाट नौमति बाजाको उत्थान, प्रवर्धनमा सहयोग पुग्ने र स्थानीय कला संस्कृतिको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजकले जनाएको छ । वामी विश्व सम्पर्क मञ्चले २०७२ को मंसिरमा पनि नौमति महोत्सवको आयोजना गरेको थियो। मञ्चले वामीमा संस्कृति प्रवर्धनसँगै विविध कार्यक्रम संचालन गर्दै आएको छ ।