असारदेखिको तलब नपाई बित्यो कर्मचारीको दशैँ

असारदेखिको तलब नपाई बित्यो कर्मचारीको दशैँ


नेपालीको महान् चाड बडादशैँमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार संघीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैँजस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उनले बताए ।

‘आजभोलि भन्दाभन्दै आसैआसमा दशैँ बित्यो,’ उनले भने, ‘जिल्लाका धेरै कर्मचारी अन्योलमा छन् दरबन्दी कहाँ, हाजिर कहाँ हुने, काम के गर्ने भन्ने कुराले निकै अन्योलमा छन् ।’

प्राविधिक खगेन्द्र भण्डारीका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालयका सातजना कर्मचारीले गएको असारदेखि तलब पाएका छैनन् । तलब आउँछ भन्ने आसमा दशैँ पनि बित्यो, तर पाइएन ।

उनले भने, ‘खर्च व्यवस्थापन गर्न निकै गाह्रो भयो अझै कहिले आउने हो निश्चित छैन ।’ सम्बन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।