पर्यटकको वृद्धिसँगै वसन्तपुरको आम्दानी पनि बढ्यो

पर्यटकको वृद्धिसँगै वसन्तपुरको आम्दानी पनि बढ्यो


सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करिब १३ लाख रुपैयाँ आम्दानी भएको छ ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनर्निर्माणले गति लिइरहेको बेला पर्यटकको संख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मंगलबार मात्रै १३ लाख रुपैयाँ आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए । अन्य दिन सामान्यतयाः दैनिक रु. १० लाख आम्दानी गर्दै आएको छ ।

सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या ८२ अन्य देशबाट एक हजार २६९ जना पर्यटक घुम्न आएका थिए । यसैकारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन रु. १२ लाख ८१ हजार तीन सय जम्मा भएको हो । यहाँ विशेषगरी चीन, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन् ।

यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत रु. १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु. एक हजार तिर्नुपर्छ । शुल्कबापत दैनिक संकलन हुने रकमलाई पर्यटकको संख्या बढाएर रु. १५ लाखसम्म पु¥याउने लक्ष्य सुनाउँदै कार्यक्रम प्रमुख पसखलले वसन्तपुर क्षेत्रका सांस्कृतिक संरचना पुनर्निर्माणमा तीव्रता दिइएकाले पर्यटकको संख्या बढेको बताए ।

भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्मा गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनर्निर्माण भइरहेका छन् भने माजु देग पुनर्निर्माणको शुभारम्भ चरणमा पुगेको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । यस वर्ष अहिलेसम्मको अवधिमा सबैभन्दा बढी पर्यटक मंगलबार आएका हुन् ।

आन्तरिक पर्यटकका लागि भने शुल्क लिने व्यवस्था रहेको छैन । यस क्षेत्रमा पर्यटकको झन्डै तीन दर्जन सम्पदा रहेको छ ।