किरण पुस्तकालयको पुस्तकालय सभा

किरण पुस्तकालयको पुस्तकालय सभा


रमेश विश्वकर्मा, गुल्मी

किरण पुस्तकालय तम्घास गुल्मीको स्वर्ण महोत्सवसँगै ५१औं पुस्तकालय सभा गरिएको छ। ‘समृद्ध पुस्तकालयः सुदृढ समाज’ भन्ने मुल नाराका साथ शुरु भएको पुस्तकालय सभालाई सम्बोधन गर्दै प्रजिअ यदुनाथ पौडेलले मौलिक स्वरुपलाई कायम राख्दै नयाँ पुस्तालाई पुस्तकालयमा कसरी आकर्षित गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए।

पौडेलले किरण पुस्तकालय जिल्लाकै बौद्धिक सम्पत्तिको मियो भएको भन्दै सबै पक्षलाई समावेश गदै समयसापेक्ष बनाउनुपर्ने बताए।

रेसुङ्गा नगरपालिकाका उप–प्रमुख सीता भण्डारीले देश अहिले संघीयतामा गएकाले पुस्तकालयको संरक्षणको जिम्मा अब स्थानीय तहको काँधमा आएको बताइन् । उनले पछिल्लो समय पुस्तकालयप्रति लगाव कमी भएकोले प्रविधिमैत्री पुस्तकालय निर्माणमा नगरपालिकाबाट हुन सक्ने सहयोग सदैव रहने बताइन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद पोखरेल, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासी, पुस्तकालयका सभासद राधा पन्थी लगायतले मन्तव्य राख्दै किरण पुस्तकालय बौद्धिक खुराक पस्किने ठाउँ भएकाले समाज विकासको मापकको सुचकका रुपमा यसलाई लिन सकिनेमा जोड दिए।

सो अवसरमा पुस्तकालयका सचिव दीन पन्थीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै उनले कार्तिक १८ गते पुस्तकालयको अत्याधुनिक सुविधासम्पन्न नयाँ पुस्तकालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको समेत उल्लेख गरे। कार्तिक १८, १९ र २० गते पुस्तकालयका समग्र प्रकाशन प्रर्दशन समेत गरिने जनाइएको छ।

पुस्तकालयले मनाइरहेको स्वण जयन्तीको समापन भने कार्तिक २७ गते गरिने छ। कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष चनबहादुर कुवँरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।