चितवनमा २६७ सहकारीको लगानीमा पेट्रोल पम्प सञ्चालनको तयारी

चितवनमा २६७ सहकारीको लगानीमा पेट्रोल पम्प सञ्चालनको तयारी


चितवनका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० बाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी संघ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो ।

संघका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । भट्टराईका अनुसार एउटा सहकारीले रु. २५ हजारदेखि पाँच लाखसम्म शेयर लगानी गरेका छन् ।

संघको आफ्नै जग्गामा पम्प खोलिएको हो । पम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार पम्प निर्माणका लागि कीरब पाँच करोड रुपैयाँ लगानी गरिएको छ ।

पम्पमा अपांगमैत्री शौचालय, चमेनागृह, किराना पसललगायतको सुविधा रहेको छ । अधिकारीका अनुसार एकैपटकमा आठवटा सवारीसाधनले इन्धन भर्न पाउनेछन् । चार डिजल र चार पेट्रोलका सवारीले इन्धन भर्न पाउने उनले बताए ।

एक लाख चार हजार लिटर क्षमताका ट्यांकी रहेका छन् । जसमध्ये ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल क्षमता रहेको छ । अधिकारीले डिजिटल बिलिङबाट भुक्तानी गर्ने सुविधा राखिएको बताए । तेल ढुवानीका लागि दुई ट्यांकरसमेत खरिद गर्ने तयारी गरिएको छ ।

सहकारीको पम्प भएकाले निजी व्यवसायीको एसोसिएसनमा सदस्य नबस्ने र निजीको भन्दा सस्तो मूल्यमा इन्धन बिक्री गर्ने संयोजक अधिकारीले बताए ।