लेक लागेर कांग्रेस नेताको निधन

लेक लागेर कांग्रेस नेताको निधन


चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का नेपाली कांग्रेसका नेताको आज मृत्यु भएको छ ।

मनाङको तिलिचो ताल घुम्न गएका करिब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा कांग्रेसका सहसंयोजक तथा साबिक लेखनाथ नगरपालिका–१७ का सभापति हुन् ।

तिलिचो तालमा पुगेर फर्कने क्रममा श्रीखर्कमा पुगेपछि अधिकारीलाई लेक लागेको साथीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । पोखराबाट यही कात्तिक ४ गते बिहान सात साथीका साथमा अधिकारी मनाङको यात्रामा निस्किएका थिए ।

तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि आज बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । अहिले अधिकारीको शव गण्डकी अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ ।