विवेकशील साझा पार्टीको संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । विवेकशील साझाको देशव्यापी संगठन विस्तार कार्यक्रम अन्तर्गत पोखरामा जिल्ला कमिटिको संयोजनमा प्रदेशस्तरीय कार्यक्रम हुन लागेको सो पार्टीले जनाएको छ ।
विवेकशील साझा पार्टी जिल्ला कमिटि कास्कीका अनुसार कात्तिक ९ र १० गते हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
सो कार्यक्रमका लागि पार्टीका शीर्ष नेताहरू पोखरा जाँदैछन् । कास्की जिल्ला सचिवालयका सदस्य सुरेश पहारीले दिएको जानकारी अनुसार विवेकशील साझाका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापासहित केन्द्रीय नेताहरू केशव दाहाल, डा. सूर्यराज आचार्य, रञ्जु दर्शनालगायत पोखरा पुग्दैछन् ।
कार्यक्रममा संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा आफ्ना धारणा राख्ने बताइएको छ । त्यस्तै, डा. सूर्यराज आचार्यले विवेकशील साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्र विषयमा आफ्नो विचार राख्नेछन् । अर्का नेता केशव दाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्यको बारेमा प्रकाश पार्नेछन् भने रञ्जु दर्शनाले युवा पुस्ता राजनीति र सामाजिक अभियानको विषयमा बोल्नेछिन् ।
उक्त दलको ‘सेड्युल’अनुसार कात्तिक ९ गते शुक्रबार संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुनेछ भने कात्तिक १० गते शनिबार विवेकशील साझाको गण्डकी प्रदेश संयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश संयोजक घोषणाका लागि पार्टीले विशेष तयारी गरिरहेको छ । प्रदेश संयोजक घोषणा कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सचिवालयले जानकारी दिएको छ । घोषण कार्यक्रममा सबै सर्वसाधारणहरुले सहभागिता जनाउन सक्ने पनि बताइएको छ ।
प्रतिक्रिया