ढोरपाटन सडकको अवरोध ‘समृद्ध अर्घाखाँची’ निर्माणमा बाधक !

ढोरपाटन सडकको अवरोध ‘समृद्ध अर्घाखाँची’ निर्माणमा बाधक !


  • मुक्तिनाथ भुसाल

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले समृद्ध अर्घाखाँची निर्माणका लागि सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकामस्थित मिलन केन्द्रमा विहिबार सम्पन्न अन्तरक्रियामा स्थानीय तह र विकासे कार्यालयहरूले आर्थिक वर्ष ०७४/७५ को बजेट तथा सम्म्पन्न कार्यक्रमहरूबारे बढाइचढाई गरे पनि कार्यक्रममा सहभागीहरू चाहिँ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक कार्यालयप्रति असन्तुष्ट रहेको अनुभूति गरियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले एग्रोफरेष्टी अध्ययनका लागि मथुरा र चिवेकमा कक्षा सञ्चालनमा आइसकेको, एयरपोर्ट तथा जिल्लामा भएका तीनवटै नगरपालिकालाई आधुनिक बनाउन डिपिआर सम्पन्न भएकोलगायत थुप्रै कार्यले गति लिए पनि ढोरपाटन सडकको मुखलाई वर्षौंदेखि अवरुद्ध गराएर सडक उपभोग गर्नबाट बञ्चित गराउने काम आफूलाई असैह्य भएको बताए । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकका लागि प्राप्त चालु आवको कुल बजेटमध्ये अधिकांश बजेट सालझण्डीदेखि अर्घाखाँचीको निहालीसम्म खर्च गरेर भए पनि यसपाला मुखको भाग खुलाउनु गुल्मी र अर्घाखाँचीका लागि अत्यावश्यक भएको वहाँबाट सुनियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले जिल्लाका पालिकाहरूले समान खरिदमा भन्दा उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने बताउँदै महत्वपूर्ण कार्यक्रममा उपस्थिति नजनाएकोमा सालझण्डी–सन्धिखर्क–ढोरपाटनका प्रमुखप्रति ब्यङ्ग्य गरे । सम्बद्ध कर्मचारीहरूले इमान्दारीपूर्वक काम गरी सडकको मुखमा देखिएको समस्या फुकाउन पहलकदमी लिनुपर्ने सुझाव उनले दिए ।

यसैगरी कार्यक्रमका अतिथि तथा प्रदेशसभा सदस्य चेतनारायण आचार्यले विकास निर्माणका लागि आनीवानी र आचरणमा सुधार गर्नु अति आवश्यक भएको भन्दै सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको कन्चनदेखि ढुंग्रीखोलासम्म कामको जिम्मा लिएर ठग्दै आइरहेको ठेकेदारलाई अविलम्ब कारवाहीसहित ठेक्का तोडेर नयाँ ढंगले दु्रत गतिमा काम गर्न आफुले बारम्बार सुझाव दिँदा पनि सुनुवाई नहुनुको पछाडि डिभिजन प्रमुख र ठेकेदारको मिलेमतो भएको आरोप लगाए । ठेक्का तोडेर सडक सम्पन्न गर्नुपर्ने धारणा उनको थियो ।

यसैगरी, प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले खुजुरे योजनाभन्दा कृषि, पर्यटन र उद्योगमा केन्द्रित भई लगानी नगर्दासम्म समृद्धि हासिल नहुने जिकीरसहित सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको मुखमा वर्षौंदेखिको समस्यालाई बेवास्ता गरी आफुखुशी चल्ने डिभिजन प्रमुख र ठेकेदारलाई कानुनले दिन्छ भने हिरासतमा लिएर कारवाही गर्नुपर्ने तर्क अघि सारे ।

प्रदेशसभा सदस्य जाल्पा भुसालद्वारा बजेट भएर पनि उपलब्धि हासिल नहुनुमा इमान्दारिताको अभाव रहेको औंल्याइयो ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष ऋषि अधिकारीले सम्पूर्ण डिभिजन कार्यालय जिल्लाबाट बाहिर जाने निर्णयसँगै निर्माणव्यवसायीहरूको भविष्य अन्धकारमा परेको गुनासोसहित प्रहरीहरूले गाडीवालासँग लिने रकम स्वयम्को गोजीमाभन्दा राज्यको खातामा जानुपर्ने माग गरे ।

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठले निर्माण व्यवसायीहरूबाट कमिशन लिने र दिने कार्यको अन्त्य हुनुपर्ने भन्दै व्यवसायीहरूलाई गुणस्तरमा ध्यान दिन सुझाव दिए ।

कार्यक्रमका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मासिक लाखौँको बिजुली बिल तिर्ने अग्नी सिमेन्ट कारखानालाई शितगंगा नगरपालिकाले वार्षिक दुई लाख मात्रै कर असुल गर्नु विडम्बना भएको भन्दै सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको मुखमा भएको लापर्वाहीप्रति चिन्ता व्यक्त गरे । कर्मचारी साथीहरूलाई सकभर हिरासतमा लिन आफूले नचाहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न घुमाउरो भाषामा चेतावनी दिए ।

ज्ञातव्य छ, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकअन्तर्गत पाल्पाको कन्चनदेखि अर्घाखाँचीको ढुङ्ग्रीखोलासम्म सडकको ग्राभेलका लागि ०७१ सालमा सम्झौता गरिएको विटी जयबाबा जेभी स्वयम्भू काठमाडौंले हालसम्म काम नगर्दा सडक उपभोगका लागि कठिनाई बनेको छ । सम्झौताअनुसार ०७२ सालमै काम पूरा हुनुपर्नेमा यो वा त्यो वहानामा काम नगर्दा हालसम्म प्रगति विवरण भ्याटसहित २४ प्रतिशत मात्रै रहे पनि ठेक्का तोड्ने कामका लागि सम्बन्धित कार्यालय मौन रहेको छ ।