विभेदविरुद्ध संर्घष जारी : सांसद चौधरी

विभेदविरुद्ध संर्घष जारी : सांसद चौधरी


राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका सांसद चन्द्रकान्त चौधरीले थारु, मधेशी, आदिवासी जनजातिलगायतका उत्पीडित समुदायमाथि भएको विभेदविरुद्ध संर्घष जारी रहेको बताएका छन् ।

पुर्णप्रसाद चौधरी नेतृत्वको थाकस सप्तरीद्वारा सप्तरीको शम्भुनाथ नगरपालिकामा आयोजित दशँै, तिहार, छठ र समाचकेवा पर्वको शुभकामाना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालको संविधान २०७२ विभेदकारी रहेको आरोप लगाउदै सांसद चौधरीले संविधानमा रहेको विभेदकारी नीति संशोधन गर्न आफू र आफ्नो पार्टी संर्घषरत रहेको बताए । आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम समुदायको अधिकार सुनिश्चितताका लागि संविधानमा रहेको विभेदकारी नीति संशोधन गर्न जरुरी रहेको जिकीर गर्दै उनले उत्पीडित समुदायको हकअधिकारका लागि सबै एकजुट हुनुपर्नेमा समेत जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले सरकार संघीय राज्य प्रणलीको नीति सिद्धान्त र अवधारणाविरुद्ध अघि बढेको बताउँदै विकास, समृद्धि र सुशासन सरकारको भाषणमा सुनिए पनि शासनमा यस्तो नपाएको आरोप लगाए ।

पुर्णप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाकसका पुर्व केन्द्रिय सदस्य कन्तलाल चौधरी, नेपाल मधेशी निजामती कर्मचारी मंचका राष्ट्रिय अध्यक्ष भुवनेश्वर चौधरी, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, केन्द्रिय पार्षद विलट चौधरी, अनिल चौधरी पुर्व जिल्ला शिक्षा अधिकारी रामनारायण चौधरी, पुर्वप्रधानाध्यापक महावीरप्रसाद चौधरी, समाजसेवीहरु यूगूतलाल चौधरी, प्रभु नारायण चौधरी, पन्ना लाल चौधरीले शुभकामाना मनतव्य ब्यक्त गर्दै विभाजित भएको थाकस सप्तरीलाई एउटै वनाउनुपर्नेमा जोड दिए ।