प्रदेश प्रहरी भर्ना संघीय सरकारको सहमतिबाटै : उपसभामुख देव

प्रदेश प्रहरी भर्ना संघीय सरकारको सहमतिबाटै : उपसभामुख देव


राजविराज । प्रदेश नम्बर २ का उपसभामुख उपमा देवले संघीय सरकारसँगको सहमतिबाटै प्रदेश नम्बर २ मा प्रदेश प्रहरी भर्ना हुने बताएकी छिन् ।

सप्तरीको राजविराजस्थित आफ्नै निवासमा बिहान दशैँ, तिहार, छठ र समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामाना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपसभामुख देवले यस्तो बताएकी हुन् ।

संविधानको म्यान्डेटअनुसार प्रदेश नम्बर २ को सदनबाट प्रदेश प्रहरी भर्ना विधेयक पास भएको बताउँदै उपसभामुख देवले भनिन्, प्रहरी भर्ना गर्नेबारे संघ र प्रदेश सरकारबीच म कुनै विवाद देख्दिनँ, संविधानको पालना गर्नु दुवै सरकारको दायित्व रहेकाले सहमतिबाटै प्रदेश प्रहरी भर्ना हुन्छ ।

प्रदेश प्रहरी ऐनप्रति केन्द्र सरकारको आपत्ति छ भन्ने सुनिन्छ नि ? भन्नेसञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले प्रदेशलाई आवश्यक प्रहरी भर्ना गर्दा केन्द्र सरकारको विमति हुनै नसक्ने जिकीर गरिन् ।

प्रदेश सरकारले गठन गरेको अनुगमन तथा छानबिन समितिका संयोजक समेत रहेकी उपसभामुख देवले प्रदेशभित्र हुने विकास निर्माणको अनुगमन तथा भ्रष्टाचार नियन्त्रणका लागि कडाईका साथ प्रस्तुत हुने प्रतिबद्धतासमेत ब्यक्त गरिन् ।

संघीयता नेपालका लागि नयाँ अभ्यास भएकाले त्रुटीहरु हुन सक्ने र बेलाबखत संघ र प्रदेशबीच सानोतिनो विवाद उत्पन्न भए पनि आपसी समझदारीमा समस्याको समाधान खोज्नुपर्ने सुझाव समेत उनले दिइन् ।