कार्यविभाजनका लागि नेकपामा कार्यदल

कार्यविभाजनका लागि नेकपामा कार्यदल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको प्रदेश कमिटीलाई पूर्णता र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठित सो कार्यदलले सचिवालयको अर्काे बैठकमा राय प्रस्तुत गर्ने र उक्त प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गरिने महासचिव पौडेलले जानकारी दिएका छन् । नेकपा (नेकपा)को केन्द्रीय कमिटीमा ४४१ सदस्य छन् ।

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद् र सरकार सञ्चालनलगायत विषयमा छलफल हुने कार्यसूची रहे पनि प्रदेश कमिटीलाई पूर्णता र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे मात्र निर्णय भएको छ ।

यसअघि तोकिएका प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले प्रदेश कमिटीका सदस्यको सिफारिश गरेको नामलाई रुजु गरी सो कार्यदलले पूर्णताका लागि सुझाव दिनेछ ।

यही कात्तिक १२ र १३ गते हुने पार्टी स्थायी कमिटी बैठक बस्ने तय भएको छ । गत जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई गठित नेकपाको तल्ला कमिटीको एकता प्रक्रिया लम्बिएकामा पछिल्ला सचिवालयको बैठकमा छलफल हुँदै आएको छ ।

तस्बिर रासस