मादल बनाउने पेशाबाट मनग्य आम्दानी

मादल बनाउने पेशाबाट मनग्य आम्दानी


गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

स्थानीय ५८ वर्षीय साने कुलुका तीन छोरा र एक छोरीले बाबुको पुर्खौली पेशालाई पछ्याउँदै मादल बनाउने पेशामा लागेका हुन् । एकै स्थानमा छुट्टाछुट्टै पसल खोलेर उनीहरूले मादल बनाउन र बेच्न थालेको कम्तीमा करीब २० वर्षभन्दा बढी भयो । ‘सिजनको समयमा मादल पु¥याउन नै गाह्रो हुन्छ’, जेठो छोरा हरीराम कुलुले भने, ‘बनाउन सके नबिक्ने भन्ने नै छैन ।’ श्रीमान र श्रीमती सरिता मिलेर महीनामा ५० वटा जति मादल बनाउने गरेको उनले बताए । ‘एउटा मादलको रु एक हजार ५०० देखि दुई हजार ५०० सम्ममा बिक्री हुने गर्छ’, कुलुले भने, ‘सानो र ठूलो मादलको मूल्य फरकफरक पर्छ ।’ मादल बिक्रीबाट मासिक रु ७० हजार जति आम्दानी हुँदै आएको कुलुले बताए ।

ती मादल नारायणघाट, काठमाडौँ, हेटौंडालगायतका ठाउँमा लगेर बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘त्यतातिरका व्यापारी कहिले आफैं आएर लैजान्छन्, कहिले हामी नै लगेर बेच्छौँ’, हरीरामकी श्रीमती सरिता कुलुले भनिन्, ‘बिक्री हुन गाह्रो छैन बरु बनाउनै गाह्रो छ ।’ माइतीमा मादल बनाउने बारेमा ज्ञान नभएको बताउँदै सरिताले भनिन्, ‘बिहे गरेर आएपछि यही नै सिकेकोे हो, अहिले यही पेशाले छोराछोरी पढाउन र परिवार पाल्न पुगेको छ, अझै केही पैसा त बचत पनि गर्र्दै आएका छौ ।’

बैंकबाट ऋण झिकेर मादल बनाउने व्यवसाय शुरु गरेको बताउँदै कुलुका माइला छोरा पूर्णबहादुर भन्छन्, ‘दशैँ तिहारको समयमा अलि धेरै व्यापार हुन्छ, महीनामा ५०-६० भन्दा बढी बनाउन सकिँदैन, त्यति भए पनि आफूलाई पुग्ने कमाइ भइरहको छ ।’

वर्षभरिमा मादल बिक्रीबाट रु ७-८ लाखभन्दा बढी नै कमाइ हुने पूर्णबहादुरले बताए । ‘कान्छा भाइले त मान्छे नै राखेर काम गर्दै आएको छ’, उनले भने, ‘ठूलदाइ र मेरोभन्दा भाइको कमाइ राम्रो छ ।’ उनीहरूले मादलसँगै पञ्चेबाजा, खैँजेडी, डमरु, धिमेबाजा, ढलकी, मृदुङ्गालगायतका छालाबाट बन्ने अन्य वाद्यवाधनका सामग्री बनाउने गरेका छन् । मादल बनाउन उत्तीसको काठको घार, छालालगायतका कच्चा पर्दाथ बाहिरबाट ल्याउनुपर्ने भएकाले भनेको समयमा सामान पाउन गाह्रो हुने उनीहरूको भनाइ छ । ‘मादल बनाउने घार धादिङको मूलखोलबाट ल्याउने गरेका छौँ, पहिले हातले मादलको घार खोल्नुपथ्र्यो, अहिले मेशिनले खोलेको घार पाइन्छ’, बाबु साने कुलुले भने, एउटै घारको रु ४०० देखि ५०० सम्म पर्छ ।’

त्यस्तै मादल बनाउन प्रयोग गरिने गोरुको छाला, बाख्राको छालालगायतका सबै कच्चा पर्दाथ काठमाडौंबाट ल्याउने गरेको उनीहरूको भनाइ छ । दशैँ तिहारलगायतका सिजनमा दशकिलोमा उनीहरूले बनाएको मादल किन्न बागलुङ, काकँडभिट्टा, धरानदेखिका मान्छे आउने गरेको कुलुका छोरीज्वाइँ बाबुराम विकले बताए । दशकिलोमा रहेका साने कुलुको परिवार मात्र होइन, त्यहाँ बसोवास गर्दै आएका अन्य आठ घर कुलु समुदायले पनि मादल बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् । –दीपक श्रेष्ठ