निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादबारे फैसला गरेको छ । आयोगले आज नामबारेको विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको हो ।
तत्कालीन एमाले र माओवादीबीच गत जेठ ३ गते भएको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम किर्ते गरेको आरोप लगाउँदै सो नाम खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
सोही विषयलाई लिएर आज प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयुक्तहरूको इजलासले दुई दलको फरक–फरक अस्तित्व देखिएकाले ऋषि कट्टेलको निवेदन खारेज गर्ने फैसला गर्दै सत्तारुढ दलको नामलाई वैधानिकता प्रदान गरेको हो ।
आज भएको बहसमा सत्तारुढ नेकपाका तर्फबाट मुक्ति प्रधान र बाबुराम दाहाल सहभागी थिए भने ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाबाट कट्टेलसहित दण्डपाणि पौडेल र लोकनारायण सुवेदी उपस्थिति रहेको थियो ।
आयोगले फैसलाअघि दुवै नेकपाका प्रतिनिधिसँग गत बुधबार छलफल गरेको थियो ।
प्रतिक्रिया