गृहमन्त्रीद्वारा अध्यागमन अनुगगन

गृहमन्त्रीद्वारा अध्यागमन अनुगगन


गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका कामकारबाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागलगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे । गृहमन्त्री थापाले भने, ‘विदेशीले नेपाल टेक्नेबित्तिकै हुने उसको पहिलो अनुभव महत्वपूर्ण हुन्छ । पहिलो अनुभव नै नराम्रो भयो भने ऊ फर्केर फेरि नेपाल आउँदैन । साथीलाई पनि नजान सुझाव दिन्छ । तर, अनुभव राम्रो भयो भने ऊ पनि दोहोरिएर आउँछ र अरूलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन गरेर काम गर्नुहोस् ।’

विमानस्थल र सीमानाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकाले त्यसलाई गम्भीर रूपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिए ।

उनले भने, ‘यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी छ । पहिलो राष्ट्रिय सुरक्षाको, दोस्रो देशको अर्थतन्त्रको विकासको र तेस्रो मुलुकको सभ्यता, संस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ ।’

आगामी वर्षलाई अध्यागमन वर्षको रूपमा मनाउने प्रस्ताव आएको भन्दै त्यसबारे सकारात्मक निर्णय लिन मन्त्रालय तयार रहेको गृहमन्त्री थापाले स्पष्ट पारे ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै अध्यामगनलाई थप व्यवस्थित बनाउन निर्देशन दिए ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामनका लागि आवश्यक नयाँ सफ्टवेयर जडान गर्न काम अघि बढिसकेको जानकारी दिँदै ६ महिनाभित्र अध्यागमन प्रणालीलाई थप आधुनिक प्रविधिमार्फत काम गर्ने गरी प्रक्रिया अघि बढेको बताए । सो क्रममा गृहमन्त्री थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन गरेका थिए ।