विकासका एकाकारको विकल्प छैन : मन्त्री अधिकारी

विकासका एकाकारको विकल्प छैन : मन्त्री अधिकारी


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रको समृद्धिका लागि एकाकार बन्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नं. २ द्वारा आज पोखरामा विजयादशमी, दीपावलीलगायतका विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री अधिकारीले संस्कृति तथा पर्वले एक–आपसमा पुनर्मिलन र मेलमिलापको वातावरण सिर्जना गर्ने बताए ।

संघीयताको मर्मअनुसार तीनवटै तहका कानुन निर्माणमा वर्तमान सरकार लागिपरेको बताउँदै उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमबाट काम अघि बढाउन लागिएको उल्लेख गरे ।

उनले नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रियस्तरमा नै प्रतिस्पर्धा गर्न सक्ने किसिमको बनाउन सरकार लागिपरेको उल्लेख गर्दै यसबीचमा अन्तर्राष्ट्रिय विमानस्थल २४सैँ घन्टा सञ्चालनमा ल्याइसकिएको बताए ।

तोकिएकै समयभन्दा अघि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले गौतमबुद्ध विमानस्थल आगामी ६ महिनाभित्रमा सञ्चालनमा आउने जानकारी दिए ।

अभाव एवं गरिबीपन हटाउँदै समृद्धितर्फ अघि बढाउन सरकार लागेकोमा जोड दिँदै उनले विकासका लागि सबै एकाकार हुनुको विकल्प नभएको बताए ।

दिगो विकासले लोकप्रियता हासिल गर्ने लक्ष्य रहेको बताउँदै उनले यसबीचमा १५० कानुन, ३०० संशोधनका साथै प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्फ सरकार उन्मुख बनेको उल्लेख गरे ।