डा. महतको प्रश्न– ‘कता जाँदैछ मुलुकको अर्थतन्त्र ?’

डा. महतको प्रश्न– ‘कता जाँदैछ मुलुकको अर्थतन्त्र ?’


नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको आर्थिक नीति तथा क्रियाकलापले मुलुकमा समृद्धि आउँछ भनेर कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

नेपाली कांग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘भाषणले समृद्धि आउँदैन, बोलेर मात्र हुने भए कम्युनिष्टहरुले देशमा उहिलेदेखि नै ठूला–ठूला आश्वासन दिएका छन्, धेरै बोलेका छन् ।’

सरकारका अहिलेकै क्रियाकलापबाट देशमा आर्थिक विकास र समृद्धि सम्भव नभएको भन्दै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री त भाषणैपिच्छे समृद्धिको कुरा गर्नुहुन्छ, उहाँ कहिले भान्सामा ग्याँस त कहिले बिजुलीको तार जोड्ने कुरा गर्नुहुन्छ तर त्यसको कुनै छाँट छनक जनताले पाउन नसकेकोले अब नेपाली जनताले पत्याउन छोडिसकेका छन् ।’

नेका सहमहामन्त्री डा. महतले देशको अर्थतन्त्र प्रतिदिन ह्रासोन्मुख हँुदै गएको, सरकारले मुलुकको अर्थतन्त्रलाई चलायमान र उर्भर बनाउने खालका नयाँ नयाँ कार्यक्रमहरु ल्याउन नसकेको र सरकारका क्रियाकलाप र उसको आर्थिक नीतिका कारण देशमा समृद्धिको सपना देख्नै कठिन भएको धारणा राख्दै प्रश्न गर्नुभयो– ‘अब भाषण गर्न छोडेर उहाँले नै सोच्दा हुन्छ कि देशको अर्थतन्त्र कता जाँदैछ ?’

यो देशको आर्थिक विकास नेपाली कांग्रेसको सरकारले मात्र गर्नसक्ने र त्यस्तो ‘भिजन’ कांग्रेससँग मात्र रहेको उहाँले बताउनुभयो । उहाँले अहिले देशको आर्थिक अवस्थाको मूल्यांकन गरी देशको अर्थतन्त्र कता जाँदैछ भन्ने बारेमा कांग्रेसले नै देशव्यापी रुपमा अभियान चलाउनुपर्ने बताउनुभयो ।

विपी कोइरालाले विसं २०१० मा नै प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको स्मरण गर्दै डा.महतले भन्नुभयो– नेपाली कांग्रेसको आर्थिक नीति पनि प्रजातान्त्रिक समाजवादबाटै प्रेरित छ र त्यसप्रति अहिले पनि कांग्रेस प्रतिबद्ध छ ।

प्रजातान्त्रिक समाजवाद भनेको वस्तुको उत्पादन र वितरण हो भन्दै उहाँले भन्नुभयो– देशमा उत्पादन बढाउने, उत्पादनको पहूँचमा आम नेपालीलाई पु¥याउने अनि त्यो उत्पादनको वैज्ञानिक एवम् समानुपातिक वितरण गर्ने कार्यबाट नै प्रजातान्त्रिक समाजवाद साकार हुन्छ, यो नै नेपाली कांग्रेसको आर्थिक नीतिको मूलमन्त्र हो ।

मुलुकमा कृषि, औद्योगिक र हरेक आर्थिक क्षेत्रको उत्पादन बढाउने काममा अब कांग्रेसको नीति केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । कांग्रेस यो सबै काम सरकारबाट मात्र हुन्छ भन्ने कुरामा विश्वास गर्दैन बरु उसले उत्पादन बढाउने काममा आम नेपालीलाई उत्साहित गर्छ र त्यसका लागि आवश्यक पर्ने सबै वातावरणको निर्माण गरिदिन्छ ।

कांग्रेस जहिले पनि आर्थिक क्रियाकलाप र यसम्बन्धी नीतिहरुको निर्माण पारदर्शी रुपमा गर्ने गरेको र अब पनि राजनीतिक संक्रमण भनेर बस्ने मात्र नभई संघीय शासन व्यवस्थामा प्रवेश गरिसकेको देशलाई आर्थिक रुपमा समृद्ध बनाउने एजेण्डाकासाथ अघि बढ्ने नीतिको पक्षमा रहेको भन्दै त्यसका लागि देशव्यापी अभियान चलाउन कांग्रेसका सबै कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।