तिहार नजिकिएसँगै फूल व्यवसायी कृषक व्यस्त

तिहार नजिकिएसँगै फूल व्यवसायी कृषक व्यस्त


– छविलाल बगाले

तिहार आउन नौ दिन मात्र बाँकी छ । यतिवेला फूलले काठमाडौंका माथिल्ला भेगलाई रहरलाग्दो बनाइदिएको छ । तिहारलाई लक्षित गरेर काठमाडौंको इचंगुनारायण क्षेत्रमा व्यवसायिक फूलको खेती हुने गरेको छ । हिजोआज यहाँका किसान फूल र माला बनाउन ब्यस्त छन् । तर, फूलको परनिर्भरतामा कमी आउन सकेको छैन ।

यतिबेला यहाँको पाखैभरी पहेंला फूलको दृश्य देख्न सकिन्छ । बिशेषगरी तिहारमा बढि प्रयोग हुने सयपत्री, मखमली फूल इचंगुनारायण क्षेत्रका किसानले व्यवसायिक फूल खेती गरेको वर्षौ भयो । फूल खेती गर्ने किसान यतिबेला फूलबारीमा मात्रै भेटिने गरेका छन् । सयपत्री र मखमली फूलको व्यवसायीक खेति गर्ने यी किसान यतिबेला फूल टिप्न र माला बनाउने चटारोमा छन् ।

केही किसानले व्यवसायिक रुपमै एक रोपनीदेखि ६ रोपनी क्षेत्रफलसम्मको जग्गामा फूल लगाएका छन् । कतिले भाडामा जग्गा लिएर फूल खेती गर्दै आएका छन् । जिविकोपार्जनको प्रमुख आधार बनेको फूल खेती यहाँको नगदेबाली हो । अन्य बालीको तुलनामा यहाँका किसानले दोब्बर आम्दानी फूलखेतीबाटै गर्ने गर्छन् ।

इचंगु क्षेत्रका फूल किसानहरुले फूल बिक्रिबाट मात्रै बार्षिक एकदेखि ५ लाखसम्म कमाउँदै आएका छन् । अन्य बालीको तुलनामा कम मेहेनत गरे पुग्ने यो व्यवसायमा जोखिम भने धेरै रहेको किसानको गुनासो छ । राज्यबाट खासै सहयोग नपाएका उनिहरु अनुदान, विउविजन र भण्डारणको समस्या रहेको बताउँछन् ।

गत वर्षभन्दा यसवर्ष सयपत्री र मखमली मालाको मूल्यमा वृद्धि र बजार व्यवस्थापन हुन नसकेको किसानको गुनासो छ । मानिसको दैनिक जिवनमा आवश्यक फूल बिदेशबाट करोडौं मुल्य बराबरको आयात हुने गरेको छ । अघिल्ला बर्षहरुमा नेपालले भारतबाट पाँच करोड मूल्य बराबरका फूल आयात गरेको थियो । तिब्बत, मलेसिया, अमेरिका, थाइल्यान्डजस्ता मुलुकबाट नेपाली जातका फूलको माग हुने भएपनि उत्पादन कम भएका कारण निर्यात गर्न सकिएको छैन् ।

पछिल्लो समय नेपालमा फूल खेती फस्टाउँदै गएको छ । सोखका रुपमा मात्रै छिटफुट फूल खेती हुँदै आएकोमा केही वर्षयता खेती र व्यवसाय गर्नेहरु बढ्दै गएका छन् । आत्मनिर्भर बन्न सकिने भएपछि फूल व्यवसायमा आउनेको संख्या पनि बढ्दै गएको छ । नेपालमा ३९ जिल्लामा व्यवसायिक फूल खेती हुँदै आएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

मुलुकभर १ सय ४८ बढि हेक्टर जग्गाामा फूल खेती हुँदै आएको छ । पुष्प खेतिमा करिब ६ अर्ब बढि लगानी रहेको व्यवसायीहरु बताउँछन् । पुष्प व्यवसाय फस्टाउँदै गए पनि बिउमा भने नेपाल अन्य देशमै भर पर्नुपर्ने अवस्था छ । अझै पनि नेपालका पुष्पव्यवसायीले ९५ प्रतिशत मौसमी फूलको बीउ आयात गर्ने गरेका छन् ।