विवेकशील साझा पार्टीले संगठन विस्तारको क्रममा गण्डकी प्रदेशको संयोजकको रुपमा युवा व्यवसायी तथा सञ्चारकर्मी महेश भण्डारीलाई चयन गरेको छ । शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका बीच भण्डारीलाई पार्टीले गण्डकी संयोजक नियुक्त भएको घोषणा गरेको हो । कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले पार्टीको परम्पराअनुरुप मातृभूमि (माटो)को टिका लगाएर भण्डारीलाई पार्टीको गण्डकी प्रदेश संयोजक घोषणा गरेका थिए ।
महेश भण्डारी गण्डकी क्षेत्रको लोकप्रिय एफएम स्टेशन विग एफएमका सञ्चालक हुन् । उनी सञ्चारकर्मी हुनुका साथै राष्ट्रिय तथा क्षेत्रीय दैनिकहरूमा राजनीतिक, सामाजिक र शैक्षिक विषयहरुमा विश्लेषणहरु लेख्ने गर्दछन् ।
स्पष्ट र सशक्त वक्ताको रुपमा परिचित भण्डारीले विवेकशील साझा पार्टी निर्माणका क्रममा गण्डकी प्रदेश संयोजकको महत्वपूर्ण भूमिकाको जिम्मेवारी दिइएकोमा खुशी व्यक्त गर्दै गण्डकी प्रदेशलाई राजनीतिक रुपमा नमूना प्रदेश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘अझै पनि राजनीतिक हिसाबले यो प्रदेशले दीर्घकालसम्म सम्झिने खालका नेताहरु नपाएको अवस्था हो ।’ भण्डारीले भने– ‘र, यो प्रदेशको यो रिक्ततालाई मेटाउने मेरो प्रयास हुनेछ । मेरो राजनीतिक यात्रा क्षणिक हुने छैन ।’
महेश भण्डारीजस्तो इमानदार, दृढ, स्पष्ट र समाज रुपान्तरणको प्रतिबद्धताले पूर्ण युवा गण्डकी जस्तो महत्वपूर्ण प्रदेशको नेतृत्वमा पाउनु विवेकशील साझा पार्टीको लागि गर्वको विषय भएको संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले बताए । ‘हामीले यहाँको एउटा जुझारु र दृढ युवालाई गण्डकी प्रदेश संयोजकको रुपमा पाएका छौँ । जुन कुराले हामीलाई ठुलो उर्जा दिएको छ ।’ पार्टीको संयोजक रविन्द्र मिश्रले भने ।
त्यस्तै पार्टीका अर्का सँयोजक उज्जवल थापाले पनि गण्डकी प्रदेशमा भण्डारीको संयोजकत्वमा विवेकशील साझाले नयाँ तरंग ल्याएको बताए । ‘यो प्रदेश निकै सम्भावना बोकेको प्रदेश हो । र, पार्टीले यस्तो प्रदेशमा एउटा गजबको नेतृत्व पाएको छ । हामी निकै खुशी छौँ,’ उनले भने ।
पार्टीका केन्द्रीय सदस्यहरु डा. सूर्यराज आचार्य, केशव दाहाल र रञ्जु दर्शनाले पनि भण्डारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन् । एकै पुस्ताभित्र नेपालको रुपान्तरण गर्ने अठोटका साथ १ वर्षभन्दा केहि अगाडि स्थापना भएको विवेकशील साझा पार्टीलाई आम रुपमा मूलधारका पार्टीहरुको सशक्त विकल्पको रुपमा हेर्न थालिएको छ ।
पार्टीले सुदुरपश्चिम, कर्णाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का संयोजकहरुको घोषणा गरिसकेको छ । हाल विवेकशील साझा पार्टी देशभरी संगठन विस्तारको अभियानमा छ । हालै पार्टीको केन्द्रीय नेतृत्वले सुदुर पश्चिम, कर्णाली र प्रदेश नम्बर ५ को भ्रमण गरेर पार्टी प्रशिक्षण तथा आम सर्वसाधारणहरुसँग अन्तरक्रिया गरेको थियो । छिट्टै प्रदेश नम्बर १ र २ मा पनि यस्तै कार्यक्रमहरुको आयोजना हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया