दिवंगत मास्केको अन्त्येष्टि सोमबार

दिवंगत मास्केको अन्त्येष्टि सोमबार


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दिवङ्गत नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थीव शरीर सोमबार बिहान ८ देखि ११ बजेसम्म धूम्रबाराहीस्थित नेकपा कार्यालयमा राख्ने भएको छ ।

सो दिन पार्टी कार्यालयमा अध्यक्ष प्रचण्डले उहाँलाई दलको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएपछि अन्य नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मास्केको हिजो शनिबार ६७ वर्षका उमेरमा मस्तिष्कसम्बन्धी रोगबाट निधन भएको थियो । अमेरिकामा रहेका उहाँका दुई छोरा सोमबार काठमाडौ. आइपुगेपछि अन्त्येष्टि गरिने बताइएको छ । मास्केको शव अहिले त्रिवि शिक्षण अस्पतालमा छ ।

विसं २०४४ मा भएको तत्कालीन काठमाडौं नगरपञ्चायतको निर्वाचनमा उहाँ नेकपा (माले)का तर्फबाट प्रधानपञ्चका लागि उम्मेदवार हुनुभएको थियो ।