‘सत्ताउन्मादले भ्रष्ट बामपन्थी आफै समाप्त हुने’ दाबी

‘सत्ताउन्मादले भ्रष्ट बामपन्थी आफै समाप्त हुने’ दाबी


– रमेश विश्वकर्मा, गुल्मी

सत्ता उन्मादले निरंकुश र भ्रष्ट हुँदै चरम गुटबन्दीमा लागेका बामपन्थी आफै समाप्त हुने आरोप नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीले लगाएका छन् । नेपाली कांग्रेस वडा कार्य समिति रेसुङ्गा नगरपालिका वडा नं. १० ले गुल्मीको सिमीचौरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो धारण व्यक्त गरेका हुन् ।

शुभकामना आदानप्रदान कार्यक्रम बडादशैं, दिपावली, नेपाल सम्वत र छठपर्वको अवसर पारेर आयोजना गरिएको हो । सोही अवसरमा शुभकामना आदानप्रदानलगायत पार्टीको वर्तमान अवस्था र भावी योजनाको बारेमा विशेष छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका वरिष्ठ उपाध्यक्ष भलामीले पार्टीले जिम्मेवार रुपमा प्रतिपक्षीको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । जिम्मेवार प्रतिपक्षीको रुपमा विकास योजनाको शुक्ष्म अनुगमन, इमान्दार, पारदर्शी, जवाफदेही र एकिकृत भई सङ्गठन सुदृढीकरण, पार्टी एकता र सत्तारोहणसँगै सत्ताउन्मादले अन्धो भ्रष्ट र चरम गुटबन्दीमा लागेका बामपन्थी आफै समाप्त हुने उनले जिकीर गरे ।

त्यसैगरी विशेष अतिथिका रुपमा रहेका नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले तरुण युवाको नेतृत्वविना राजनीतिक मात्र नभएर सामाजिक, आर्थिक लगायत सबै विषयको विकास हुन नसक्ने धारणा व्यक्त गरेका छन् । उनले सक्षम र सवल युवालाई नेतृत्व दिन पार्टी पछि पर्न नहुने भन्दै पार्टीमा क्रियाशीलदेखि विकासको गतिविधिसम्म मन्द अवस्था देखिएकाले युवाहरुलाई सचेत बनाई अगाडि बढाउनुपर्ने तर्क गरे ।

कार्यक्रममा देशभरि नै महिला हिंसा, बलात्कार लगायत जघन्य अपराध भइरहेका बेला सरकार चुप लागेर बसेको र सरकारले विभिन्न हिंसात्मक गतिविधिहरुमा संलग्न दोषीलाई कारवाही हुनुपर्ने मागलगायत विषयमा विशेष छलफलसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस १० नं. वडाका सभापति नीरबहादुर थापाको सभापतित्व, नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य थम्मन बहादुर खत्री, तरुण गुल्मीका अध्यक्ष भरत भलामी, नेपाली कांग्रेस नगर कार्यसमितिका सभापति छवि पाण्डे, नेपाल शिक्षक संघ ५ नं. प्रदेशका उपमहासचिव बमबहादुर राना, समाजसेवि, वुद्धिजीवि, नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस १० नं. वडाका सचिव रामबहादुर बस्नेतले गरेका थिए ।