दुर्घटनामा परेका किशोर र वृद्धाको मृत्यु

दुर्घटनामा परेका किशोर र वृद्धाको मृत्यु


महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा राउतको विद्युत् चुहावट हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका किशोर राउतलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी कारको ठक्करबाट घाइते सप्तरीको कञ्चनरूप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१५च ८११६ नम्बरको कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरूप नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।