बीपीका समकक्षी ठकुरी र पूर्वसांसद न्यौपाने सम्मानित

बीपीका समकक्षी ठकुरी र पूर्वसांसद न्यौपाने सम्मानित


नेपाली कांग्रेस भक्तपुरका वयोवृद्ध नेताद्वय रामबहादुर ठकुरी र लेखनाथ न्यौपानेलाई विशेष सम्मान प्रदान गरिएको छ । सम्मानित हुने ठकुरी र न्यौपाने नेपाली कांग्रेस, भक्तपुरका पूर्वसभापति हुन् ।

जहानियाँ राणशासन, पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध अनवरत संघर्ष गरी प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि अतुलनीय योगदान पुऱ्याएको ठहर गर्दै नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ क्षेत्रीय समितिले उनीहरूलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दोसल्ला र कदरपत्र प्रदान गरी ठकुरी र न्यौपानेलाई सम्मान गरेका हुन् ।

सम्मानित हुने ८० वर्षीय न्यौपाने यसअघि प्रतिनिधिसभाका सांसदसमेत रहेका थिए । उनी भक्तपुरको दधिकोटमा जन्मिएका हुन् । भक्तपुर क्षेत्र नं. २ नेपाली कांग्रेसले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा न्यौपाने र ठकुरीलाई सम्मान गरिएको हो ।

सम्मानित हुने ९४ वर्षीय ठकुरी नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका समकक्षी हुन् । सम्मान कार्यक्रममा उपसभापति निधिले प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान पुऱ्याउने योद्धालाई पार्टीले सधैँ उच्च सम्मान र कदर गर्ने नीति लिएको बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले न्यौपाने र ठकुरीजस्ता व्यक्तित्वको सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।