बागलुङका पाँच स्थलमा सोलार बत्ती सहयोग

बागलुङका पाँच स्थलमा सोलार बत्ती सहयोग


सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको आर्थिक सहयोग र केन्द्रिय समितिको व्यवस्थापनमा गलकोट नगरपालिका वडा नं ७ का ४ वटा धार्मिक स्थल र संस्थाको केन्द्रिय कार्यालयमा सोलार बत्ती हस्तान्तरण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार संयोजक सुवेदार टीकाबहादुर थापाले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

घुम्टे युवा परिवार कार्य समिति पदाधिकारीहरू, जनप्रतिनिधि, जापान शाखा प्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीयको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

सोलार बत्ती हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले मल्मका विभिन्न धार्मिक स्थल सँगसँगै घुम्टे युवा परिवारको कार्यालयमा घुम्टे युवा परिवार जापान शाखाले सोलार सहयोग गरेपछि सबैतिर यसको प्रशंसा हुन थालेको बताए । थापाले भने, ‘युवाहरूको यो प्रशंसनीय कार्यको अन्य सामाजिक संस्थाहरूलाई समाज विकास र परिवर्तनमा थप प्रेरणा मिलेको छ ।’

सोलार बत्ती सञ्चालनमा आएपछि अहिले गलकोट नगरपालिका वडा नं ७ मल्मका ४ महत्वपुर्ण धार्मिक स्थल र सामाजिक संस्था घुम्टे युवा परिवारको कार्यालय झलमल्ल छन् । घुम्टे युवा परिवारको जापानमा शाखा विस्तार गरेसँगै केन्द्रिय कार्यालयको पहलमा शाखाले ५ सेट सोलार सहयोग प्रदान गरेको थियो ।

झण्डै सवा लाखको लागतमा क्लबको कार्यालय मल्म सप्ताहघाट, बामिया युगेश्वर शिव शक्ति मन्दिर, सप्ताहघाट कोट मन्दिर, नाच्ने डाँडा सिद्वेश्वर शिवालय मन्दिर र झिर्का नेटा शिवालय मन्दिरमा ४० वाट क्षमताको सोलार जडान गरेपछि मन्दिरसँगै संस्थाको कार्यालय झलमल्ल बनेका हुन् ।

०४१ सालमा स्थापना भएको पुरानो सामाजिक संस्था घुम्टे युवा परिवार विगतदेखि नै स्थानीय स्तरमा सामाजिक क्रियाकलापमा सकृय रहँदै आएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले बताए । समय–समयमा तालिम, गोष्ठी, बाटोघाटो मर्मत, सँगै युवा जागरणका काममा संस्थाले निरन्तरता दिँदै आएको छ । पछिल्लो समय गलकोट क्षेत्रबाट विदेशिने युवाहरूको संख्या ह्वात्तै बढेको छ ।

गलकोट क्षेत्रका युवाहटुको रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । मल्मका अधिकांश युवायुवती पनि जापानमा रहेका छन् । हिजोआज गाउँमा हुने मेला, महोत्सव, विभिन्न संघ–संस्था, विद्यालयले गर्ने सामाजिक कार्यहरूसँगै कसैलाई आपतविपत पर्दा जापानमा रहेका युवा युवतीहरूले ठुलो मात्रामा आर्थिक सहयोग गर्दै आएका छन् ।

व्यक्ति–व्यक्तिले सहयोग गरिरहन भन्दा सामाजिक एकता सदभाव र समाज विकासमा संस्थागत रुपमा जोडिँदै महत्वपुर्ण भुमिका निर्वाह गर्न घुम्टे युवा परिवार जापान शाखा गठन गरिएको शाखा अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिए ।

विभिन्न सामाजिक कार्यहरूलाई अगाडि बढाउने क्रममा धार्मिक पर्यटनको विकास र प्रवद्र्धन गर्नको निमित्त यसले महत्वपुर्ण योगदान गर्ने जापान शाखाका सचिव दिनेश थापाले बताए । सचिव थापाका अनुसार जापानमा रहेर विभिन्न पेशा व्यवसाय गरिरहेका भएका मल्मवासीको तथ्याङ्क संकलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

यता धार्मिक स्थलहरूमा सौर्य उर्जा सोलार जडान गरेपछि मन्दिरहरू झलमल्ल भएकबाट आफुहरू खुसी भएको सिद्वेश्वर शिवालय सेवा समिति मल्मका अध्यक्ष ज्ञानबहादुर थापाले बताए । यसले सामाजिक संस्थाहरूबीच थप सहकार्य र सदभाव बढने थापाको विश्वास रहेको छ । यस्ता अभियानले विदेशमा रहेका युवाहरू पनि आफनो ठाउककलाई केही गर्नुपर्छ भन्ने उदाहरणको रुपमा प्रस्तुत भएको युगेश्वर शिवशक्ति मन्दिर बामियाका सचिव रत्न बहादुर मल्लको भनाई छ ।

नव दुर्गासँगै धार्मिक स्थलहरू झलमल्ल पार्न घुयुप जापान शाखाले खेलेको भुमिकाप्रति खड्ग कालिका कोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले प्रशंसा व्यक्त गरे । केन्द्रिय विद्युतको सुविधा रहेपनि विद्युत भनेको समयमा नहुने कारण धार्मिक स्थलमा सौर्य उर्जा थप प्रभावकारी हुने नेटा शिवालय मन्दिर व्यवस्थापन समितिका हुमबहादुर कार्कीले बताए ।