अपराध न्यूनीकरणका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

अपराध न्यूनीकरणका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम


शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम महत्वपूर्ण हुने बताइएको छ । महानगरीय प्रहरी परिसर टेकुले आइतबार काठमाडौंमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा सामाजिक दायित्व’ विषयको कार्यक्रमका वक्ताले समुदायका व्यक्ति र प्रहरी मिलेमात्र समाजमा हुने अपराध न्यूनीकरण गर्न सकिने बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापा क्षेत्रीले समाजमा हुने अपराध हटाउन सके मात्र मुलुक विकासको बाटोमा लम्कन सक्ने धारणा राखे। समाजमा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक रहेको उनको कथन थियो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्दै प्रहरीको एक्लो प्रयासले समाजमा हुने अपराधलाई नियन्त्रण गर्न नसक्ने, यसका लागि आम जनसमुदायको सहयोग आवश्यक पर्ने बताए ।

काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अपराध गर्ने व्यक्तिलाई संरक्षण गर्ने परिपाटीका कारण समाजमा अपराध बढेको छ भन्दै यसलाई नियन्त्रण गर्न व्यक्ति स्वयम् सच्चिन जरुरी रहेको तर्क गरे ।

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले हरेक विद्यालय र पाठ्यक्रममा समुदाय र प्रहरीसम्बन्धी कार्यक्रम लग्नुपर्ने बताए । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख गौतमकुमार केसी, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ, समाजसेवी शङ्कर लोहारलगायतले समुदाय र प्रहरीबीच हातेमालो नभएसम्म समाजमा हुने अपराध नरोकिने बताए ।

(तस्बिर रासस)