चालु आर्थिक बर्षको पहिलो त्रैमासदेखि नै बजारमा लगानीयोग्य पूँजीको अभाव सुरु भएको छ । योसँगै आक्रामकरुपमा कर्जा विस्तारमा लागेका बैंकले कर्जा प्रवाह गर्न रोकिएका छन् । विगतका बर्ष झैं पूँजीको अभाव बल्झिएपछि बैंकहरु दशैंमा बाहिरिएको रकम प्रणालीमा भित्रिने आशमा छन् ।
बैंक तथा वित्तीय संस्थाले आक्रामक रूपमा कर्जा विस्तार थालेपछि बैंकहरुमा लगानीयोग्य पूँजीको अभाव सुरु भएको छ । चालु आर्थिक वर्ष २०७५-०७६ को पहिलो त्रैमासदेखि नै बजारमा लगानीयोग्य पूँजीको अभाव सुरु हुन थालेको हो । गत वर्ष अधिकांश महिना वित्तीय प्रणालीमा तरलता अभाव देखियो । तर, अघिल्लो बर्षको तुलनामा चालु आर्थिक वर्षको सुरुमा तरलता केही सहज भएपनि त्यो अवस्था दुई महिना पनि टिकेन ।
जसका कारण वित्तीय प्रणालीमा पुनः तरलता अभाव सुरु हुन थालेको छ । पूँजीको अभाव भएपछि बैंकहरु दशैंमा बाहिरिएको रकम प्रणालीमा भित्रिने प्रतीक्षामा छन् । दशैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको २२ अर्ब भित्रिन थालेको र सरकारको विकास खर्चसँगै स्थानीय तहमा बिनियोजन भएको ९० अर्ब बैंकिङ प्रणालीमा आएपछि तरलता समाधान हुने विश्वास नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । ‘सबै बेंकहरुमा तरलताको समस्या छैन् ।’ उनले भने, ‘केही बैंकहरुमा समस्या छ होला । साना कर्जा प्रवाहमा कुनै समस्या छैन् । हामीले त्यस्ता कर्जा दिइरहेका नै छौं ।’ उनले बाहिर हल्ला भएजस्तो तरलताको समस्या भने छैन् ।
वाणिज्य बैंकबाट असोजमा गरिएको कर्जा प्रवाह र निक्षेप संकलनको तथ्यांक
– असोज मसान्तसम्म कर्जा प्रवाह : २२ खर्ब ४६ अर्ब रुपैयाँ
– निक्षेप संकलन : २५ खर्ब २३ अर्ब रुपैयाँ
भदौमा गरिएको कर्जा प्रवाह र निक्षेप संकलनको तथ्यांक
– भदौ मसान्तसम्म कर्जा प्रवाह : २१ खर्ब ७४ अर्ब रुपैयाँ
– निक्षेप संकलन : २५ खर्ब २ अर्ब रुपैयाँ
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत सातासम्म पाँच वाणिज्य बंैकको सीसीडी अनुपात ८० प्रतिशत नाघेको छ । बैंकिङ प्रणालीमा केही तरलता देखिएपनि पूँजी–कर्जा–निक्षेप (सीसीडी) मा चाप परेको हो । अहिले समग्र बैंकिङ क्षेत्रको औसत सीसीडी अनुपात ७७ दशमलव ३६ प्रतिशत छ । बंैकिङ प्रणालीमा ५३ अर्ब अधिक तरलता रहेको, व्यवस्थापनका लागि २३ अर्ब बजारमा पठाएको र बैंक तथा बित्तिय संस्थाले गत असारको तुलनामा अहिले ३६ अर्ब बढि बिदेशी मुद्रा होल्डिङ गरेकोले केही असहज भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । उनका अनुसार सामान्यतयाः दशैंमा प्रणालीबाट बाहिरिएको रकम तिहारपछि मात्रै भित्रिने अपेक्षा छ । बैंकहरूले बचत संकलन र ऋण लगानीबीच सन्तुलन मिलाउन नसकेको राष्ट्र बैंकले पनि स्वीकार गरेको छ । बैंकहरूले विगतबाट पाठ सिक्नुपर्ने भएपनि त्यसो हुन नसक्दा बर्षेनी प्रणालीमा तरलताको समस्या देखिन्छ ।
त्यसो त बैंक तथा बित्तिय संस्थाहरुले चालू आर्थिक वर्षको तेस्रो महिनाको अन्तिम साता १८ अर्ब रुपैयाँ बरावरको कर्जा प्रवाह गरेका छन् । तर, असोज १९ देखि २६ गतेसम्मको अवधिमा २८ वाणिज्य बैंकबाट १७ अर्ब रुपैयाँ निक्षेप झिकिएको छ । चालू आर्थिक वर्षको साउनदेखि गत असोज २६ गतेसम्म वाणिज्य बैंकहरूले ५० अर्ब निक्षेप संकलन गर्दा १ सय ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको अन्तिम महिनामा अर्थात असारमामात्र १ खर्ब १ अर्ब निक्षेप थपिएको थियो । तर, सो अवधिमा बैंकहरूले ४८ अर्बमात्र कर्जा प्रवाह गरेका थिए । सरकारी खर्च भएको कारण सो अवधिमा बैंकमा निक्षेप वढेको थियो ।
असारमा उच्च दरमा बढेको निक्षेपका कारण बैंकहरूको औसत पुँजी, कर्जा तथा निक्षेप (सीसीडी) अनुपात सहज अवस्थामा रहेको हुनाले कर्जा प्रवाहदर उच्च देखिए पनि पहिलो त्रैमास नसकिँदै बैंकहरूले कर्जामा नियन्त्रण गर्न पर्ने अवस्था आएको हो । विगतमा बैंकहरूले आर्थिक वर्षको सुरुमा आक्रामक कर्जा प्रवाह गर्दा दोस्रो त्रैमासपछि निक्षेपको अभाव वढेपछि कर्जा प्रवाहमा समेत नियन्त्रण गर्नुपरेको थियो । सरकारले चालू आर्थिक वर्षमा समयमा नै खर्च गर्ने भने पनि विगतको समस्या कायम रहेकाले बैंकिङ प्रणालीमा समस्या दोहोरिएको हो । चालू आर्थिक वर्षको असोजसम्ममा २६ गतेसम्ममा बैंकहरूमा कुल २५२० अर्ब निक्षेप रहेको छ । सो अवधिमा बैंकहरूले २२ खर्ब ४४ अर्ब कर्जा प्रवाह गरेको तथ्यांक केन्द्रीय बैंकसँग छ ।
प्रतिक्रिया