–छविलाल बगाले
विश्वप्रसिद्ध चक्रिय अन्नपुर्ण पदमार्गसँगै लमजुङका बिभिन्न पर्यटकिय सम्पदाले वर्षेनी हजारौ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् । पछिल्लो समय ‘हनि हन्टिङ’ अर्थात मह शिकार पनि पर्यटक आकर्षण गर्ने राम्रो माध्यम बनेको छ ।
महशिकारको सिजन शुरु भएसँगै जिल्लाका भिरपहराहरुमा महशिकार शुरु भएका छन् । सामान्यतय प्रत्येक वर्ष बैशाख र कार्तिक महिनामा भिर माहुरीको मह शिकार गर्ने गरिन्छ । अत्यन्तै महशुर महशिकारीले गर्ने महशिकार नयाँ पुस्ता र पर्यटकका लागि नौलो र आकर्षणको विषय पनि बन्ने गरेको छ ।

कहालीलाग्दो भीर पहराहरुमा हुने महशिकार विश्वमै विरलै हुने गर्दछ । मह शिकार लमजुङका गुरुङ समूदायको परम्परागत पेशा पनि हो । परापुर्वकालदेखि जंगलको आसपासमा बस्दै आएका गुरुङ समुदायका मानिसहरुको आम्दानीको स्रोत बन्ने गरेको महशिकार पछिल्लो वर्षहरुमा भने पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ ।
आङै सिरिङ्ग हुने अग्ला भीर पहरामा निडरका साथ महशिकारीले मह काडेको रमणीय दृश्य विदेशी पर्यटकका साथै भीर माहुरीको शिकार गरेको कहिल्यै नदेखेकाको लागि पनि साँच्चै अविस्मरणीय र रोचकको विषय हुन सक्छ । महशिकारलाई पर्यटन प्रवद्र्धनको रुपमा पनि विकास गर्नुपर्ने पर्यटन ब्यबसायी नरबहादुर गुरुङ बताउँछन् । भिर पहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट महशिकार गरिए स्थानिय गाउँलेको आम्दानीको साथै महशिकारले स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सकिने उनको विश्वास छ ।

लमजुङका विभिन्न स्थानका छङ्गाछुर ठाडो भीरपहरामा हुने महशिकार हेर्दैमा जति डरलाग्दो छ, शिकार गर्न पनि उत्तिकै गाह्रो छ । तर पनि निडर महशिकारीहरु आफ्नो ज्यानको बाजी लगाउँदै भीरपहरामा महशिकार गर्दै आइरहेका छन् । परापुर्वकालदेखि नै भीरपहरामा पाइने भीरमौरीको शिकार गर्न गाउँलेको हानाथाप चल्ने गर्दथ्यो । तर अहिले त्यस्ता महशुर शिकारी भेट्टाउनै मुस्किल भएको महशिकारीहरु बताउँछन् ।
भिर मौरीको महशिकार आफैंमा साहासी कार्य पनि हो । मह शिकार गर्दा दर्शकहरुलाई मनोरञ्जन मिले पनि शिकारीले भने जोखिम मोल्नुपर्ने हुन्छ । सीप हस्तान्तरणको अभावमा मह शिकार पेशा संकटमा पर्नेसक्ने २२ वर्षअघि देखि महशिकार गर्दै आएका मह शिकारी दिलबहादुर गुरुङको भनाई छ ।

महशिकारलाई सरकारीतहबाट नै विशेष प्राथमिकतामा राख्नुपर्ने जानकारहरु बताउँछन् । प्रविधिको विकाससँगै नयाँ पुस्तालाई महशिकार सम्वन्धी तालिम र आधुनिक सामाग्री उपलब्ध गराए सिप हस्तान्तरण र भीरपहरामा रहने मौरीको संरक्षण गर्न सकिने अर्का मह शिकारी मिनबहादुर गुरुङको बुझाई छ ।

मस्र्याङदी गाउँपालिका–४, स्याँगे झरना नजिकै रहेको भिरमा गत शुक्रबार महशिकार गरिएको थियो । महशिकारी डिलबहादुर गुरुङ, मिनबहादुर गुरुङ लगायतले महशिकार गरेका थिए । ताघ्रिङसहित घनपोखरा, भुलभुले, भुजुङ, दूधपोखरी लगायतका भीर पहराहरुमा भीर माहुरी प्रशस्तै पाइने गर्छ । महशिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि पर्यटक आकर्षणका लागि हिजोआज ‘हनिहन्टिङ फेस्टिवल’ का रुपमा महशिकार गरिदै आएको छ । यसअघि पनि जिल्लाको ताघ्रिङ, बाहुनडाँडको नाइचे, खुदीको सिउरुङ, घनपोखरा, भुजुङ लगायतका स्थानमा हनिहन्टिङ फेष्टिवल भइसकेको छ ।
प्रतिक्रिया