– त्रिभुवनचन्द्र वाग्ले
०७१ वैशाख २० गते नेपाल पत्रकार महासङ्घको २४औँ महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले ‘म तपाई:हरूको माझबाट उठेको हुँ, मेरा नजिकका आफन्त पनि तपार्इ:हरू नै हो’ भन्दै सञ्चारकर्मीसँगको आफ्नो सम्बन्धबारे स्पष्ट गर्नुभएको थियो । त्यहीँबाट उहाँले देशभरिबाट राजधानी आएका पत्रकारहरूलाई चियापानका लागि निम्ता दिनुभयो । कोइरालाको चिया खाएपछि चुनावको तालमेल बिग्रन्छ भनेर चुनावी गठबन्धनमा रहेका एमाले र माओवादी पत्रकारले चियापान ‘बहिष्कार’ गरे । यो घटनालाई प्रबुद्ध धेरै पत्रकारले आलोकाँचो वामबुद्धिको संज्ञा दिए । कोइरालाले धेरै पत्रकारको मन जित्नुभयो ।
यसै साता सोमबार साँझ प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका क्रममा अमेरिका प्रस्थान गर्नुभयो । यसअघि अमेरिकामा उहाँको जिब्रोको क्यान्सरको उपचार गरिएको थियो । त्यसैको नियमित र थप परीक्षणका लागि उहाँ यसपटक त्यता जानुभएको हो । आफ्नो रोगका बारेमा स्पष्टसँग बताइदिएर कोइरालाले स्थापित मान्यताको अन्त्य गरिदिनुभएको छ । नेताहरूले आफूलाई लागेको रोगबारे यति खुलस्त गरेको उदाहरण सितिमिति पाइन्न । गत वर्ष भारतीय नेतृ सोनिया गान्धीको अमेरिकामा सम्भवतः क्यान्सरकै उपचार गरिएको थियो, तर उहाँले रोगबारे बताउनुभएन । कोइरालाले विगतमा आपूm पान र सुर्तीजन्य पदार्थको अम्मली भएकाले क्यान्सर भएको हो भनेर एकैपटक दुईटा सन्देश सम्प्रेषण गरिदिनुभएको छ । एक, उहाँले रोग लुकाउनुभएन । दोस्रो, सुर्ती र पानको अम्मलले आफूलाई क्यान्सर भएको भनेर नयाँ पुस्तालाई त्यस्ता पदार्थको सेवन नगर्न ‘लाइभ’ सल्लाह दिनुभई उहाँले युवाको मन जित्नुभएको छ ।
व्यावसायिक आधुनिकीकरणले विज्ञापनको शैली र तरिकामा परिवर्तन आउँदै गर्दा सोसल मार्केटिङ र उत्पादनका ब्रान्ड एम्बेसडर तोक्ने प्रचलन बढ्दो छ । विज्ञापनशास्त्रमा रोल मोडलकै रूपमा सरोकारवालामार्फत विज्ञापन सन्देश दिएर आमनगरिकको ध्यानाकर्षण गर्नुलाई ठूलो सफलता मानिन्छ । विज्ञापनका परिकल्पना, नारा, दृश्यका लागि ठूलो धनराशि खर्च गरिने गरिन्छ विज्ञापनशास्त्रमा । नेपालका प्रधानमन्त्रीले सुर्तीजन्य पदार्थको उपभोगले आफूलाई क्यान्सर भएको जुन सन्देश दिनुभएको छ यसलाई सुर्तीविरोधी अभियन्ताहरूले ठूलो प्रचार सामग्री बनाउन सक्दछन् । कोइरालाको अनुमति लिएर विश्व स्वास्थ्य सङ्गठनलगायतका निकायले उहाँमार्फत सुर्तीको उपभोग घटाउने अभियानलाई सशक्त र लाइभ बनाउन सक्दछन् । चलचित्र अभिनेता, असामान्य उत्कृष्ट सामाजिक कार्यकर्ता वा अन्य कसैमार्फत यस्ता सन्देश दिनुपर्दा सरोकारवाला निकायले करोडौँ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । उच्चपदस्थ व्यक्ति, त्यसमा पनि कोइरालाजस्ता सादा जीवनका हिमायतीले स्पष्टताका साथ रोग र त्यसको कारणबारे दिनुभएको जानकारीलाई चिकित्सकहरू, सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा संलग्नहरूले मुक्तकण्ठले स्वागत गरेका छन् । रोग, बिरामी, उपचारजस्ता व्यक्तिगत कारणले सत्ता र शक्ति राजनीतिलाई प्रभाव पार्ने गर्दछ । नेपालमा त यसको उच्च प्रभाव रहँदै आएको छ । केपी ओलीको बिमारी र उपचारलाई एमाले पार्टीको महाधिवेशन र नेतृत्वको निर्वाचनमा एकाथरीले प्रचारको माध्यम बनाएका छन् । यस्ता सम्भावना नबुझेर कोइरालाले आवेगमा वा भावनामा यो सत्य स्वीकार गर्नुभएको होइन । रोगबारे जनचेतना फैलाउनुपर्छ र त्यसबारेमा नयाँ पुस्तालाई होसियार गराउनुपर्छ भन्ने सामाजिक उत्तरदायित्व छ कोइरालाको उद्घोषभित्र । रोगबारे जानकारी दिएपछि पनि कोइरालाको अनुहारमा किञ्चित निराशा वा हतासाका लक्षण देखिएका छैनन् । साँच्चै नै उहाँले आफ्नो रोगबारे पत्रकारहरूमार्फत जानकारी गराएर पत्रकारलाई आफ्नो नजिकको आफन्त प्रमाणित गर्नुभएको होला । यो संवेदनशील कुरा पनि हो । कोइरालाले यस्तो संवेदनशील विषय आफ्ना परिवारका सदस्यलाई सुनाउनुभयो– भएन कुन्नि ! तर सबै नेपालीमाझ ‘प्रस्ट वक्ता सुशील भवेत्’ भनेझैँ कोइराला स्पष्ट बोलेर सुखानुभूति गरिरहनुभएको छ । कोइरालाले आफूलाई नै साक्षी बनाएर सुर्तीजन्य पदार्थको प्रयोग नगर्न आह्वान गर्नुभएको छ, जुन परम्परागत रूपमा मनाइने दिवस, पोस्टर, वक्तव्यबाजीभन्दा धेरै प्रभावकारी र सन्देशमूलक छ । उहाँको साहसलाई सुर्तीविरुद्धको अभियानमा लागेकाहरूले जति महत्व दिनुपर्ने हो त्यो दिनसकेका छैनन्, तर आगामी दिनमा यस्ता भनाइ र नेतृत्वको उच्च मूल्याङ्कन हुने नै छ ।
आफूलाई उदाहरण बनाएर अरूलाई अर्ती दिनु आफू जलेर अरूलाई उज्यालो दिनुजस्तै हो, जो कोइरालाले गर्नुभएको छ । कोइरालाको यस्तो भनाइलाई आत्माआलोचना, गल्ती स्वीकारोक्तिभन्दा पनि आगामी पुस्तालाई गर्नुभएको असल आह्वान भनेर बुझन् सकिन्छ, सक्नुपर्दछ । चार वर्ष पहिले पनि कोइरालाले सार्वजनिक कार्यक्रम र मिडियामार्फत नेपाल अर्बुद रोग निवारण संस्थाको कार्यक्रममा आफूले पान, जर्दा, गुड्खा, सुर्ती, सुपारीजस्ता पदार्थको उपयोग गरेकाले जिब्रोको क्यान्सर भएको जानकारी दिनुभएको थियो । कोइरालाले आफ्नो रोगबारे पत्रकारमार्फत सार्वजनिक गर्नुभई आफ्ना नजिकका आफन्त पत्रकार हुन् भनेर पुनर्पुष्टि गर्नुभएको छ, तर मिडियाको तर्फबाट यस्तो सम्बन्ध देखाइएको छैन ।
कोइरालाले आफ्ना रोगबारे जति स्पष्टसँग बोल्नुभएको भए पनि मेडिकल साइन्सका अनुसार उहाँको जिब्रोमा मात्र क्यान्सर भएको प्रमाणित गरिएको छ । जहाँसम्म छातीको दाग छ, चुरोट खाने व्यक्ति वा क्षयरोगले पनि यस्तो दाग देखिने चिकित्सकले बताएका छन् । नेपाली पत्रकारहरू भने कोइरालाको फोक्सोमा क्यान्सर भएको जस्ता समाचार लेखेर अति जान्ने सुन्ने (अजासु) देखिने होडमा लागेका छन्, जब कि चिकित्सकहरू मेडिकल साइन्समा पुष्टि नभई रोगबारे सम्भावना व्यक्त गर्नु, त्यसमाथि सार्वजनिक टिप्पणी गर्नुलाई पेसागत आचारसंहिता उल्लङ्घन ठान्छन् । कोइरालाले जति स्पष्ट बोले पनि पत्रकारहरू संयमित हुनुपर्ने हो । चिकित्सक निकै संयमित र होसियार देखिएका छन् । तर, पत्रकारहरू भने चिकित्सकभन्दा एक कदम अगाडि बढेर कोइरालालाई यस्तो भएको र उस्तो भएको भनिरहेका छन् । जिब्रोमा क्यान्सर हुनुको अर्थ फोक्सोमा हुनैपर्छ भन्ने पनि होइन । नेपाली मिडियाले कोइरालाको फोक्सोमा क्यान्सर, सेतो दाग, कालो दाग र गाँठोजस्ता शब्द प्रयोग गरेर रोगको नालीबेली दिने गरेका छन् । जब कि कोइरालाको फोक्सोको दागबारे चिकित्सकले आधिकारिक टिप्पणी गरेका छैनन् । उहाँले किन आफ्नो रोग सार्वजनिक गर्नुभयो ? अमेरिकाबाट आएपछि स्पष्ट गर्नुहोला । सुर्तीविरुद्धको अभियानमा लागेकाहरूले उहाँको स्पष्टोक्ति र आह्वानको उच्च मूल्याङ्कन गर्दै कोइरालालाई सुर्तीविरुद्धको विश्व अभियानको अभियन्ता बनाउनेतर्फ पाइला चाल्नुचाहिँ आवश्यक छ ।
प्रतिक्रिया