बुढेसकाल लागेन र ?

बुढेसकाल लागेन र ?


nisedhउमेरको ५० वर्ष हाराहारीमा पुगेपछि प्रायः मानिसले भनेको सुनिन्छ– बुढेसकाल लाग्यो । पहिलापहिला ४० वर्ष लागेपछि आँखा कमजोर हुँदै गएको सन्दर्भमा मानिसहरू चालिसे लाग्यो भन्ने गर्थे । हिजोआज ४० वर्षको उमेरलाई खासै धेरै उमेर मानिँदैन । भनिन्छ, मान्छेको जन्म, मृत्यु र विवाह भन्ने कुरा लेखेरै आएको हुन्छ, परिवर्तन गर्न सकिँदैन । जीवनमा आइलागेका परिस्थितिअनुसार कतिपय मानिसले विवाह पटकपटक गरेको या गर्दै नगरेको पनि पाइन्छ, तर जे–जस्तो परिस्थिति आइलागे पनि कसैले म फेरि जन्मिन्छु या एकपटक मरेर हेर्छु अनि फेरि बाँच्छु भनेर हुने या पाइने कुरा होइन । मान्छे जन्मिएपछि मर्ने निश्चित छ, मरेपछि के हुन्छ अहिलेसम्म कसैलाई थाहा छैन । मानिसमा मात्र नभएर कुनै पनि प्राणीमा यो कुरा लागू हुन्छ । एउटा मान्छेले कुन उमेरमा के गर्ने या के गर्न सक्छ भन्ने कुरा करिबकरिब निश्चितझैँ हुन्छ । यद्यपि सबै कुरा उमेरले नै गर्ने भन्नेचाहिँ होइन । बाल, युवा र वृद्ध यी तीन अवस्था लामो आयु बाँच्ने सबै मानिसको जीवनमा आउँछन् । वृद्धावस्थालाई ध्यानमा राखेर ‘रिटायर्ड लाइफ’को परिकल्पना सबै मुलुकमा गरिएको छ । हामीकहाँ ५८ वर्षपछिको जीवनलाई अवकाशप्राप्त जीवनका रूपमा लिइएको छ भने भारत, अमेरिका, युरोपका विभिन्न मुलुकहरू, अफ्रिकन देशहरू प्रायः सबैमा ६० देखि ६५ वर्षपछिको जीवनलाई अवकाशप्राप्त जीवन मान्ने गरिएको छ । जागिरपछिको पेन्सनलगायतका कुराहरू उमेरकै आधारमा तय गरिन्छन् । ‘रिटायर्ड लाइफ’लाई जीवनभरका दुःखसुखहरूको पुनरावलोकन गर्दै आराम तथा खुसी साथ बिताउने अवस्थाका रूपमा पनि लिइन्छ । यद्यपि त्यतिबेला प्राप्त गर्नुपर्ने खुसीहरू मानिसको जीवनमा फरक–फरक तरिकाले आउन सक्छन् या नआउन पनि सक्छन् । जे–जे भए पनि भौतिक र मानसिक रूपमा आफूलाई धेरै दुःख दिन नमिल्ने अवस्थाको रूपमा बुढेसकाललाई लिइन्छ । विभिन्न क्षेत्रमा काम गर्ने मानिसका लागि अवकाशप्राप्त जीवनको परिकल्पना गरिए पनि नेताहरूको सवालमा भने यसप्रकारको समयको परिकल्पना गरिएको पाइँदैन । विशेषगरी अविकसित या अल्पविकसित मुलुकहरूमा कतिपय मानिस नेताको रूपमा जीवनपर्यन्त राजनीतिमा अल्झिने गरेका छन् ।
प्रधानमन्त्री सुशील कोइराला ७७ वर्ष पुग्दै हुनुहुन्छ । उमेरअनुसार स्वाभाविक रूपले स्वास्थ्यले उहाँलाई साथ दिएको छैन । मानिसको स्वास्थ्य भन्ने कुरा उमेरकै कारण मात्र हुने त होइन, युवा अवस्थामै पनि कति मानिस अस्वस्थ हुन सक्छन्, तर उमेरले फरक भने पार्छ । रोगले जीर्ण बनाउँदै लगेको शरीरबीच उहाँ सकिनसकी राजकाज सम्हालिरहनुभएको छ । सभा, सम्मेलन र बैठकहरूमा देखिएको उहाँको थकित र तनावयुक्त अनुहार हेर्दा आफैँसँग प्रश्न गर्न मन लाग्छ, ‘हरे, यस्तो अवस्थामा सकिनसकी यत्रो जिम्मेवारी किन लिनुपरेको होला ? पार्टीका जल्दाबल्दा अरू कसैलाई जिम्मेवारी दिएर आफू आराम गर्दै सल्लाहकारको भूमिकामा बसे पनि त हुन्थ्यो नि ? जीवन कति नै लामो छ र ? आफूले आफैँलाई यति धेरै दुःख नदिए पनि त हुन्थ्यो नि, बेकार यो तनाव किन लिनुपरेको होला !’ प्रधानमन्त्री कोइरालाको कुरा मात्रै होइन, यता केपी ओली र माधव नेपालको दन्तबझान अर्को टिठलाग्दो विषय छ । उच्च नेतृत्वमा पुगिसक्नुभएका माधव नेपाल र रोगका कारण शारीरिक रूपमा अस्वस्थ केपी ओली दुवैको अवकाशप्राप्त जीवन सुरु गर्ने बेला भइसकेको छ । जिन्दगीमा अलिकति ‘स्पेस’ आफैँलाई दिएर आरामका साथ अरूलाई सल्लाह सुझाब दिँदै पार्टीमा शीर्षस्थ नेताको भूमिका निर्वाह गर्नुपर्नेमा आफैँ खेलाडीको रूपमा मैदानमा उहाँहरू लडिरहनुभएको छ । अरू त अरू जीवनमा पटकपटक प्रधानमन्त्री भएर, राजनीतिक रूपमा अनेकौँ उतारचढाव खपेका लोकेन्द्रबहादुर चन्दले जीवनको उत्तराद्र्धमा आएर आफँैले आफैँलाई पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) अध्यक्ष घोषणा गर्नु भो । जोस, जाँगरको दृष्टिकोणले हेर्दा त्यो उमेरमा यी सबै नेताहरूले जे–जे गरिरहनुभएको छ त्यसलाई बुढेसकालको सक्रियता गजबै भइरहेको छ भनेर सकारात्मक रूपमा लिन सकिएला, तर परिणाम के भइरहेको छ त ? भनेर हेर्दा भने मुलुक, आफूसम्बद्ध दल र उहाँहरू स्वयम् कसैलाई पनि फाइदा छैन । सकिनसकी धेरै बोझ उठाउनुपर्दा उहाँहरूलाई व्यक्तिगत रूपमा गाह्रो भएको छ । सही बखतमा चुस्त काम र निर्णय गर्न नसक्दा मुलुकलाई घाटा भइरहेको छ । वर्षौ:सम्म एउटै मान्छेले पद ओगटेर बसिदिँदा दलहरूमा दोस्रो पुस्ताको नेतृत्व नै तयार हुन सकेको छैन ।
यो संसार छोडेर गएपछि फेरि कहिल्यै फर्किएर आइँदैन भन्ने जान्दाजान्दै आखिर किन मानिस आफैँलाई भएको साह्रो, गाह्रो र अप्ठ्यारोलाई समेत वास्ता नगरी पदमा यसरी मरिहत्ते हाल्छन् त ? यसप्रकारको मनोविज्ञानबारे शायद अब छलफल गर्नु आवश्यक भएको छ । गिरिजाप्रसाद कोइराला सकेसम्म प्रधानमन्त्री या राष्ट्रपति हुँदाहुँदै आर्यघाटको यात्रा तय गर्न चाहनुहुन्थ्यो भन्ने भनाइ उहाँलाई निकटबाट बुझ्नेहरूको छ । जीवनको अन्तिम अवस्थामा राष्ट्रपति बन्ने चाहना यदि उहाँमा नहुँदो हो त यो मुलुकमा अहिले अरू के–के हुन्थ्यो भन्न सकिन्न, तर राजसंस्थाको अन्त्य र हिन्दूधर्म राष्ट्रबाट मुलुक धर्मनिरपेक्ष हँुदैनथ्यो चाहिँ भन्न सकिन्छ । यो सब हेर्दा सम्मानित भइरहने इच्छाका कारण नेताहरूले वृद्धावस्थासम्म पदको आकाङ्क्षा राखेको पाइन्छ । अविकसित मुलुकहरूमा पदले सम्मान दिलाउने भएका कारण पदमा नहुँदा आफू एक्लो र सम्मानबाट टाढा भइने डरले सकिनसकी यो मरिहत्ते हालिएको हो भन्न सकिन्छ । यदि पदबिना पनि उत्तिकै सम्मानित हुने अवस्था हुँदो हो त यसप्रकारको स्थिति रहने थिएन । ठूला विद्वान्, लेखक तथा अन्वेषणकर्ताहरूलाई त्यति पदको लोभ देखिँदैन, कारण के हो भने उनीहरूलाई मान–सम्मानको खाँचो हँुदैन । हिन्दू धर्मशास्त्र वेदमा मान्छेले प्राप्त गर्ने सम्मानलाई तीन तहमा विभाजन गरी उमेरको मान्यजन, बुद्धिको मान्यजन र विवेकको मान्यजन भन्ने व्यहोरा उल्लेख गरिएको छ । कतिपय मुलुकमा उमेरकै कारण ज्येष्ठ नागरिक हुनासाथ स्वतः सम्मान बढ्छ । मानिसहरू बसिरहेको ठाउँमा कुनै वृद्धवृद्धाको प्रवेश हुनासाथ ती मानिस ज-याकजुरुक उठ्छन, चिनिरहनु नै पर्दैन । बुद्धि र विवेकपूर्ण कार्य गर्नेहरूको सम्मान जहाँ पनि हुने गरेकै छ । अन्त्यमा, नेताज्यूहरूलाई एउटा आग्रह– एकपटक यो संसारबाट बिदा भएपछि जीवन फेरि पाइँदैन । त्यसैले पदको मान्यजन हुनुभन्दा आफूलाई धेरै दुःख नदिईकन उमेरको मान्यजन भएर बाँच्ने हो कि ?