रामविलासको हत्यामा संलग्नलाई कारवाही गर्न माग

रामविलासको हत्यामा संलग्नलाई कारवाही गर्न माग


सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न नेपाली काङ्ग्रेसले सरकारसँग माग गरेको छ ।

काङ्ग्रेसले आज (मंगलबार) एक विज्ञप्तिमार्फत मृतकलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्लाही रामनगर गाउँपालिका–४ का काङ्ग्रेसबाट विजयी वडा अध्यक्ष रामनरेश महतोको काका ५५ वर्षीय रामविलास महतोलाई नेकपाका कार्यकर्ताहरुले गोली हानी हत्या गरेका छन्, उनीहरुले एक्कासी कुटपिट गरेर गोली चलाएका थिए ।’

गोली लागेर सोही वडाका काङ्ग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते भएका विज्ञप्तिमा उल्लेख छ ।

नेकपाका कार्यकर्ताहरुले वडा अध्यक्ष महतोको घरसहित वरपरका अन्य घरमा समेत क्षति पु¥याउनुका साथै घाइते लिन गएको एम्बुलेन्स माथिसमेत तोडफोड गरेर उपचारमा लैजानसमेत समस्या उत्पन्न गरेको काङ्ग्रेसको आरोप छ ।

घट्नाको अघिल्लो दिन वडाध्यक्षलाई कुटपिट गरिएको र त्यसको भोलिपल्ट उनकै घरमा आक्रमण गरेर गोली हानिएको काङ्ग्रेसले विज्ञप्तिमा जनाएको छ । साथै अप्रिय घट्ना घट्न सक्ने सम्भावना रहेपनि प्रहरी प्रशासनले सुरक्षा दिन नसक्नु अत्यन्त दुःखद भएको काङ्ग्रेसको ठहर छ ।

यस घटनालाई काङ्ग्रेसले अत्यन्त गम्भीरतापूर्वक लिएको जनाउँदै सरकारको गम्भीर ध्यानकर्षण गराएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनसहित उपसभापति विमलेन्द्र निधि भोलि बुधबार बिहान सर्लाही जाने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।