भूकम्प पीडितले सहुलियत कर्जा पाउने भएका छन् । सरकारको निर्णयपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले पहिलो किस्ता लिएका भूकम्प पीडितका लागि सहुलियत कर्जा दिने भएको छ ।
यसअघिको सहुलियत ऋण प्रवाहमा समस्या देखिएपछि रोकिएको थियो । तर, पहिलो किस्ता लिएर पनि घर बनाउन नसकेका पीडितका लागि नयाँ कार्यविधि मार्फत ऋण प्रवाहको प्रक्रिया सुरु भएको प्राधिकरणका प्रवक्ता मनोहर घिमिरे बताउँछन् ।
भूकम्प पीडितका लागि दिईदै आएको निव्र्याजी ऋण असोज मसान्तबाट खारेज गरिएको थियो । कार्यविधिको अभाव रहेको र झन्झटिलो प्रक्रिया भएका कारण बैंक तथा वित्तियसंस्था पीडितलाई ऋण दिन उदासिन बनेका थिए । यसमा राष्ट्रबैंकले समेत खासै ताकेता गरेको थिएन ।
सरकारको अघिल्लो निर्णय अनुसार बैंक तथा वित्तियसंस्थाले २ प्रतिशत व्याजदरमा ऋण दिनुपर्ने थियो । तर, राष्ट्र बैंककै कार्यविधिलाई देखाउँदै उनीहरुले ऋण दिन खासै चासो नदिने गरेको गुनासो बढ्दै गएको थियो ।
२०७२ साल बैशाखको भूकम्पबाट क्षतिभएका भवन निर्माणका लागि ग्रमिण क्षेत्रमा १५ लाख र शहरमा २५ लाख दिने सरकारी निर्णय असोज मसान्तबाट खारेज गरिएको थियो । अघिल्लो निर्णयबाट करिब १२ सय ७४ जनालाई २ अर्ब १७ करोड ऋण दिइयो । तर, सिमित भुकम्प पिडितले मात्र फाइदा लिएको गुनासो समेत बढेको थियो ।
भदौ २१ गते मन्त्रिपरिषद्को बैठकले पुनः निर्णय ग¥यो । ‘पहिलो किस्ता पाएर पनि घर बनाउन नसक्ने भूकम्प पीडितलाई धितो जमानीमा २ प्रतिशत व्याजदरमा ३ लाख रुपैयाँ ऋण दिइने भएको छ ।’ प्रवक्ता घिमिरेले भने, ‘हालसम्म घर निर्माण गर्न शुरु नगरेकाले ५ वर्षका लागि ऋण पाउने छन् ।’
उनका अनुसार हालसम्म ७ लाख २४ हजार २ सय ५३ जनाले पहिलो किस्ता बुझेका छन् । जसमध्ये ६ लाखले घर बनाउन सुरु गरेका छन् । पहिलो किस्ता मात्र पाएका बाँकी पीडितलाई मात्र यो सुविधा रहने छ ।
प्रतिक्रिया